६ श्रावण २०७८, बुधबार

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहितालाई विभिन्न मातृभाषामा अनुवाद गरी प्रकाशन गर्ने अभियानलाई तीव्रता दिएको छ । काउन्सिलले हाल २ वटा (नेवा र मैथिली) भाषामा आचारसंहिता प्रकाशन गरेकोमा थप ३ वटा भाषामा अनुवाद गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

काउन्सिलको विधागत पत्रकारिता विकास उपसमितिद्धारा मङ्गलबार आयोजित ‘विधागत पत्रकारिताको विकासमा प्रेस काउन्सिलको भूमिका’ विषयक कार्यक्रममा काउन्सिलले जारी गर्ने पत्रकार आचारसंहितालाई विभिन्न मातृभाषामा अनुवाद गर्ने कार्यलाई तीव्रता दिइएको बताइयो ।

हाल मैथिली र नेवा २ वटा भाषामा अनुवाद गरिएको र थप ३ वटा (डोटेल, थारु र भोजपुरी) भाषामा अनुवाद गर्ने काम अन्तिम चरणमा पुगेको अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए । उनले विधागत पत्रकारिताको विकासका लागि आवश्यक पहल लिन काउन्सिल तयार रहेको भन्दै सम्बन्धित पक्षबाट आउने सल्लाह र सुझाव सङ्कलन गरी हातेमालो गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष बस्नेतले विधागत पत्रकारितालाई बलियो बनाउन सके देश समृद्ध हुने भन्दै भाषाको जगेर्नामा टेवा पुग्ने बताए । उनले काउन्सिलले मातृभाषामा आचारसंहिता प्रकाशन गर्दै मातृभाषाको संरक्षण र सम्बद्र्घनमा योगदान दिएको बताए ।

विधागत पत्रकारिता विकास उपसमितिका संयोजक एवं काउन्सिलका सदस्य शरदप्रसाद अधिकारीले साहित्यलाई अनुत्पादक क्षेत्र भनेर सरकारले प्राथमिकतामा नराखेको गुनासो गरे ।
भाषा र संस्कृतिलाई बचाउनु पत्रकारिताको दायित्व भएकाले पनि यस किसिमका कार्यक्रम आउने दिनहरूमा गर्दै लैजाने उनले बताए । काउन्सिलका सदस्य ठाकुरप्रसाद बेलबासेले पत्रकार र सरकारबिचको सम्बन्ध सेतुको काम काउन्सिलले गरेको भन्दै विधागत पत्रकारितालाई मुलधारमा ल्याउनुपर्ने बताए ।

काउन्सिलका सदस्य दीपक पाण्डेले साहित्यिक पत्रकारितामा विशेष ध्यान दिनुपर्ने भन्दै समयसापेक्ष बनाएर विधागत पत्रकारितालाई विकास गर्नुपर्ने बताए । काउन्सिलका पुर्वसदस्य चेतनाथ धमलाले विधागत पत्रकारितासम्बन्धी व्यवसायीक तालिम दिनुपर्ने, दक्षता अभिवृद्धि जस्ता कार्यक्रम गर्नुपर्ने बताए ।
चलचित्र पत्रकार सङ्घका सचिव रघुनाथ सापकोटाले पत्रकार आचारसंहिताको प्रभावकारी ढङ्गले पालना गर्नुपर्ने बताए । थारु पत्रकार सङ्घका पूर्व अध्यक्ष डा. कृष्णराज सर्वहारीले पत्रकार आचारसंहिता विभिन्न भाषामा अनुवाद गर्नुनै विधागत पत्रकारिताका लागि कोसेढुङ्गा भएको बताए ।

उनले मातृभाषामा प्रकाशित पत्रिकाको वर्गीकरण सन्तोषजनक हुन नसकेको अवस्थामा थप सेवासुविधा दिएर काउन्सिलले प्रोत्साहन गर्नुपर्ने बताए । क्रियाशील दलित पत्रकार सङ्घ नेपालका अध्यक्ष पवित्रा सुनारले महिलाहरूको समस्या र मुद्धालाई मुलधारका मिडियाले समेटन नसकेको बताए ।

सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले भाषा बाँच्नु भनेको देशको कला र साहित्यको उत्थान हुनु भएकाले पनि विधागत पत्रकारिताको विकासमा काउन्सिलले महत्वपूर्ण भूमिका हुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV