५ श्रावण २०७८, मंगलवार
  • बाल बिक्रम कार्की,

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको घर अगाडि नै उनको पुत्ला दहन गरिएको छ । नेकपा एमालेको भातृ संगठन युवा संघ र अनेरास्वियुका युवा कार्यकताहरुले चन्द्रपुर नगरपालिका–४ मा रहेको उनको घर अगाडि चर्को नाराबाजी गर्दै पुत्ला दहन गरेका हुन् ।

आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जालझेल, षड्यन्त्र गरेर नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका खेलेको कारण ‘लाल गद्दार’ घोषणा गर्दै उनको पुल्ता दहन गरिएको नेकपा एमाले चन्द्रपुर नगर कमिटी सचिव राजु तिवारीले बताए ।

महाधिवेशनबाट केपी ओलीसँग चुनाव हारेका माधव नेपालले आफू अध्यक्ष हुने लोभमा पार्टीलाई अन्र्तघात गर्दै काँग्रेसको हातमा सत्ता सुम्पिएको आरोप लगाउँदै उनीहरुले एमालेका कार्यकर्ता एवं शुभचिन्तकहरु प्रति गद्दारी गरेको आरोप लगाए ।

युवासंघको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै नेता नेपालको घर अगाडि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भएतापनि प्रहरीको आँखा छल्दै उनीहरुले पुत्ला दहन गरेका थिए ।

युवा संघ रौतहटका संयोजक रवि रानाले नेता नेपालले प्रचण्डको वफादार कार्याकर्ता बनेर नेकपा एमालेविरुद्ध घात गरेकाले उनलाई अब नेकपा एमालेको नेता मान्न आफूहरु तयार नभएको जनाउँदै नेपाल समूहका नेताहरुविरुद्ध युवासंघले भण्डाफोर अभियान सञ्चालन गर्ने दावी गरे ।

युवा विद्यार्थीहरुले माधव नेपालको पुत्ला दहन पश्चात चन्द्रपुरमा राँके जुलुस पनि प्रर्दशन गरेका थिए । सो क्रममा माधव नेपालविरुद्ध उनीहरुले चर्का नारावाजी गरेका थिए । उनीहरुले ‘माकुने चोर, देश छोड’, ‘लाल गद्धार मुर्दावाद’, ‘केपी ओली जिन्दावाद’, ‘नेकपा एमाले जिन्दावाद’, ‘लिपुलेक कालापानी हाम्रो हो’, ‘चुच्चे नक्शा हाम्रै हो’, लगायतका नाराहरु लगाएका थिए ।

सो क्रममा रौतहटबाट समानुपातिक सांसद रहेकी कल्याणी खड्काविरुद्ध पनि उनीहरुले आक्रोशित हुँदै नारवाजी गरेका थिए ।

अनेरास्ववियुकी केन्द्रीय सदस्य आरती भण्डारीले रौतहट गृह जिल्ला भएका माधव नेपाललाई आफूहरुले बारम्बार यहाँबाट चुनाव जिताएर पठाएपनि आज आएर पार्टी र कार्यकर्तालाई धोका दिएर काँग्रेसलाई साथ दिएकाले अब गृह जिल्ला आउँदा उनलाई युवा विद्यार्थीले कालो झण्डा देखाएर स्वागत गर्ने बताइन् ।

उनले आफूहरुले आफ्नो आदर्श मानेर काँधमा बोकेको नेताले आज पार्टी र कार्यकर्ताको भावनालाई लात हानेको भन्दै त्यसको आफूहरुले कडा प्रतिकार गर्ने चेतावनी दिइन् ।

नेता नेपालको रौतहटमा दुई स्थानमा घर रहेको छ । उनको चन्द्रपुर र जिल्ला सदरमुकाम गौरमा घर रहेको छ । उनले आफ्नो दुवै घर आरडीसी नामक संस्थालाई भाडामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV