५ श्रावण २०७८, मंगलवार

काठमाडौं । काठमाडौं व्यायाम व्यवसायी संघले व्यायामशाला खुलाउन जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालीप्रसाद पराजुलीलाई ध्यानाकर्षण गराएको छ ।

मंगलबार सिडिओ पराजुलीलाई व्यायामशाला खुलाउन ध्यानाकर्षण पत्रमार्फत् व्यामशालालार्इ स्वास्थ्य चौकी अर्थात् जनताको स्वास्थ्यसँग सम्बन्धित भनेर बुझिदिन भनिएको छ ।

व्यायामशालालाई डान्सबार, रात्रीकालिन ब्यबसाय, रेष्टुरेन्ट वा मनोरञ्जन स्थलसँग तुलना गरेर बन्द नगर्न पनि ध्यानाकर्षण गरिएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘जसरी अस्पताल उपचार गर्ने स्थान हो भने जिम तथा हेल्थ क्लबहरू पनि रोग लाग्न नदिन र रोग नियन्त्रण गर्ने प्रमुख थलो भएकोले यस ब्यबसायलाइ डान्सबार, रात्रीकालिन ब्यबसाय, रेष्टुरेन्ट वा मनोरञ्जन स्थल संग तुलना गर्दै एउटै बर्गमा नराखि दिनु हुन यहाँ मार्फत ध्यानाकर्षण गराउँदै राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने नारा सार्थक बनाउन मद्दत गर्न हार्दिक अनुरोध गर्दछौं ।’

निषेधाज्ञा खुकुलो हुँदै गएको अवस्थामा बजार, निजी, सार्वजनिक तथा लामो दूरीका सवारी साधनसमेत सञ्चालन भइसकेको अवस्थामा व्यायामशालालाई बन्द गर्न नहुने संघको ध्यानाकर्षण गराएको छ ।

मानव शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो र मजबुत बनाउनका लागि आवश्यक व्यायायले रोगसँग लड्न र रोगलाई जित्न सक्ने पनि पत्रमा भनिएको छ । यसरी व्यायामशालाको महत्व बुझि बन्द रहेका व्यामशाला यथाशीघ्र खोल्न जरुरी रहेको भनिएको छ ।

हाल काठमाडौं जिल्लामा मात्र करिब २५० वटा व्यायामशालाहरु रहेको संघका अध्यक्ष सुरेश सुबेदीले बताएका छन्। उनका अनुसार सबै व्यवसाय खोलिए पनि हाल व्यायाम व्यवसायसँग आश्रित व्यवसायी, मजदुर, प्रशिक्षक, कर्मचारीहरु र सप्लिमेन्ट व्यवसायीहरु बेरोजगार र पीडित हुनुपरेको अवस्था छ ।

साथै, व्यायाशाला खोल्दा स्वास्थ्यमापदण्ड अपनाएर सञ्चालन गर्न पनि संघले ध्यानाकर्षण गराएको छ । संघले व्यायामशाला प्रवेश गर्दा अनिवार्य तापक्रम मापन गर्ने, अनिवार्यरुपमा हात खुट्टा साबुन पानीले धुने वा स्यानिटाइजर प्रयोग गराउने, ब्यायाम गर्दा सामाजिक दुरीको पालना गराउने, व्यायामशालामा आउने सम्पूर्ण सदस्यहरूको व्यक्तिगत विवरण राख्नेलगायत ९ बुँदे ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV