५ श्रावण २०७८, मंगलवार

काठमाडौँ । हामीले सुन्दै आएको एउटा भनाइ छ, हीरालाई हीराले काट्छ । ठीक यही भनाइ कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप)मा पनि सार्थक देखिएको छ ।

कोरोना भाइरस महामारीले विश्व आक्रान्त भएको डेढ वर्ष बित्यो । र अहिले यसविरुद्ध विभिन्न देशले विकास गरेका भ्याक्सिनको प्रयोग बढिरहेको छ । आखिर भ्याक्सिनविना यो भाइरस अन्त्य गर्न पनि कठिन छ, भ्याक्सिन पनि कति प्रभावकारी हुन्छ भन्ने कुराको नतिजा हेर्न बाँकी छ ।

नेपालमा पनि अहिले चीनको सिनोफार्मद्वारा उत्पादित भेरोसेल/सिनाेभ्याक, भारतमा उत्पादित अक्स्ट्राजेनेका र अक्सफोर्डद्वारा विकसित कोभिशिल्ड खोप तथा अमेरिकामा जोन्सन एण्ड जोन्सन कम्पनीद्वारा उत्पादित जानसेन कोभिड- १९ भ्याक्सिन प्रयोगमा ल्याइएको छ । यी सबै भ्याक्सिनको विधिमा केही समानता र भिन्नता भए पनि सबैको मूल काम भने मानव शरीरमा भाइरसविरुद्ध लड्ने एन्टीबडी विकास गरिनु हो ।

कसरी काम गर्छ भ्याक्सिनले ?

कोरोना भाइरस विरुद्धका प्रायः सबै भ्याक्सिनमा भाइरसकै केही अंश वा जिनलाई सुईबाट शरीरमा पठाउने काम हुन्छ । त्यसले मानव शरीरमा एन्टीबडी विकास गर्छ र जिउँदो कोरोना भाइरसले गम्भीर बिरामी बनाउन सक्दैन । अर्थात एन्टीबडी विकास भइसकेको शरीरमा कोरोना भाइरस प्रवेश गरे पनि भाइरस आफैँ पराजित हुन्छ र शरीरभित्रै नस्ट हुन्छ ।

अमेरिकी जोन्सन एन्ड जोन्सन भ्याक्सिनमा भाइरसको स्पाइक जीनलाई प्रयोग गरी खोपको माध्यमबाट मानव शरीरमा पठाउने काम हुन्छ । यसमा सामान्य रुघाखोकी गराउने एडेनो नामक भाइरसमा कोरोना भाइरसको स्पाइक जीन राखेर सुईको माध्यमबाट शरीरमा पठाइन्छ । यसरी पठाउँदा उक्त भाइरसका जिनहरुले मानव शरीरमा कुनै प्रतिकूल असर गर्दैन, तर शरीरले भाइरसको स्पाइक प्रोटिनविरूद्ध एन्टिबडी तयार पार्दछ । र एन्टीबडीले भाइरसँग लड्ने काम गर्छ ।

भारतमा उत्पादित कोभिशिल्ड र रुसको स्पुतनिक–भी भ्याक्सिन पनि यही यही प्रविधिमा आधारित रहेको बताइन्छ । यस्तो प्रविधिलाई भाइरल भेक्टर भ्याक्सिन भनिएको छ । तर यस प्रविधिका भ्याक्सिनले शरीरमा केही साइड इफेक्ट गर्न सक्छन् । सबैलाई होइन, यदाकदा कसैमा शरीरका मांशपेशी झमझमाउने, यदाकदा रगत जम्नेजस्ता समस्या जोन्सन एन्ड जोन्सनमा देखिएको विभिन्न अनुसन्धानबाट देखिएको छ ।

चीन सरकारको स्वामित्वमा रहेको कम्पनी सिनोफार्मद्वारा उत्पादित भेरोसेल भ्याक्सिनको प्रविधि भने अलि फरक रहेको छ । यसलाई इन्याक्टिभेटिड भ्याक्सीन प्रविधिबाट विकास गरिएको छ । बिबिसीका अनुसार भेरोसेलमा मारिएका भाइरसका अंशहरू सुईबाट शरीरमा पठाउने काम हुन्छ । यस प्रक्रियाबाट मानिसको शरीरमा कुनै गम्भीर समस्या भने उत्पन्न हुँदैन ।

मोडेर्ना र फाइजरका खोपहरू भने एमआरएनए प्रविधिबाट विकसित खोप हुन्, तिनमा कोरोनाभाइरसको आनुवंशिक सङ्केतलाई सुईबाट शरीरमा पठाइन्छ । यसमा पूरा भाइरस शरीरमा पठाइँदैन, भाइरल प्रोटीनहरु मात्र पठाइन्छ । यसो गर्दा उक्त प्रोटिनहरु शरीरका विभिन्न कोषहरुसँग मिलेर प्रतिरक्षा प्रणालीलाई सङ्क्रमणसँग लड्न प्रशिक्षित गर्ने काम गर्छ र शरीरमा एन्टीबडी विकास हुन्छ ।

कोरोनाभ्याक अधिक परम्परागत शैलीको खोप रहेकाे चीनकाे नाङ्याङ प्राविधिक विश्वविद्यालयका प्राध्यापक लुओ दहाईले बताएका छन् ।यस्तो विधि रेबिजको खोपजस्ता धेरै प्रचलित खोपमा सफल रूपमा प्रयोग भएको उनकाे भनाइ छ ।

कुन खाेप कति प्रभावकारी ?

हालसम्म यी विभिन्न खोपहरूको प्रभावकारिता कम्तीमा ५० प्रतिशतदेखि बढीमा ९५ प्रतिशतसम्म रहेको छ । देश र ठाउँअनुसार खोपहरूको प्रभावकारिता असर पर्ने विज्ञहरू बताउँछन् । सबैभन्दा कम प्रभावकारिता भेराेसेलकाे  छ भने सबैभन्दा बढी प्रभावकारिता फाइजर र माेडेर्नाकाे रहेकाे छ ।

हाल भेरोसेल खोपले खोप लगाएका मानिसलाई लक्षणसहितको सङ्क्रमण हुनबाट ५१ प्रतिशत जोगाउने र गम्भीर बिरामी हुनबाट बचाउने तथा अस्पताल जानुपर्ने अवस्थाबाट भने १०० प्रतिशत बचाउने अध्ययनहरूबाट देखिएको डब्ल्यूएचओको दाबी छ ।

एक आँकडाअनुसार अक्सफोर्ड अस्ट्राजेनिकाको उत्पादन (कोभिशिल्ड) ६० देखि ९० प्रतिशत प्रभावकारी देखिएको छ । सबैभन्दा बढी प्रभावकारी भने फाइजर–बायोएनटेक र मोडर्ना खोप रहेका छन्, जसको प्रभावकारिता दर क्रमशः ९५ र ९४ प्रतिशतसम्म मापन गरिएको छ । रुसको स्पुतनिक भी को प्रभावकारिता दर पनि ९२ प्रतिशत रहेको छ भने जाेन्सन एन्ड जाेन्सन ७२ प्रतिशत प्रभावकारी देखिएकाे छ ।

यद्यपि कोरोना भाइरसका नयाँ नयाँ उत्परिवर्तनहरू भइरहेको र खोपहरूको प्रभावकारिता पनि विभिन्न देशमा थप अध्ययनकै क्रममा रहेकाले यसबारे ठोस निष्कर्ष निकाल्न गाह्रो छ ।

– एजेन्सीहरूकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्

LIVE TV