२ श्रावण २०७८, शनिबार

रौतहट । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जिल्लामा सञ्चालन भइरहेका भारतीय नम्बर प्लेटका सवारीसाधनहरु नियन्त्रणमा लिन थालेको छ ।

सो क्रममा शुक्रबार जिल्लाको उत्तरी भेगमा रहेको चन्द्रनिगाहपरु आसपासबाट २५ वटा भारतिय नम्बर प्लेटका मोटरसाइकल नियन्त्रणमा लिएको छ । यसरी भन्सार छलेर निर्वाध रुपमा चलिरहेका भारतीय नम्बर प्लेटका सवारीसाधनहरुलाई नियन्त्रण लिइ भन्सार बुझाउने तयारी गरिरहेको सो कार्यालयले जनाएको छ ।

नियम विपरित चलेका भारतिय नम्बर प्लेटका सवारी साधनहरुलाई जिल्लाभरनै अभियानकै रुपमा कार्यक्रमा सञ्चालन गरेर नियन्त्रणमा लिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरिक्षक ज्ञान बहादुर माझीले बताउनुभयो । उहाँले सुरुमा केही दिन भारतीय नम्बर प्लेटका सवारी साधनहरु नचालउन स्थानीय  रेडियोहरुबाट सुचना प्रशारण गरेर , माइकिङ्ग गरेर सर्वसाधरणलाई जानकारी दिएको जनाउँदै श्रावन १ गतेदेखि चेकिङ्ग गरेर नियन्त्रणमा लिन सुरु गरेको जनाउनुभयो । ‘हामी क्रमैसँग नियम विपरित चलेका साना तथा ठुला सबै भारतीय नम्बर प्लेटका सवारी साधनहरुलाई नियन्त्रणमा लिन्छौँ’ उहाँले भन्नुभयो, ‘जिल्लामा सञ्चालन भइरहेका यस्ता सवारी साधनहरु नियन्त्रणमा लिन हामी कडाइका साथ प्रस्तुत हुन्छौ । यसमा स्थानीयको पनि साथ, सहयोग चाहिन्छ । ’

नेपालको कानुन अनुसार भन्सारमा तोकिएको राजस्व तिरेर कुनैपनि भारतीय नम्बर प्लेटका सवारी साधनहरु वर्षमा बढिमा ३० दिन चलाउन पाइने भएपनि रौतहटमा भने निर्वाध रुपमा त्यस्ता सवारीसाधनहरु चल्ने गरेका छन् । यसरी चलेका सवारीसाधनहरुबाट एक त राज्यले वर्षैनी करौडौँ राजस्व गुमाइरहेको छ भने अर्कातिर दुर्घटना भएमा पनि त्यस्ता सवारीसाधनहरु र सवारी धनीहरुलाई समात्ने कुनै आधार नहुने प्रहरीको भनाइ छ । यस्ता अवैध भारतीय नम्बर प्लेटका सवारीसाधनहरुबाट ‘हिट एण्ड रन’ का घटनासँगै अपराधि कृयाकलापहरुमा प्रयोग हुने खतरा रहेको छ ।

भारतसँग सीमा जोडिएको रौहतटमा भारतबाट नयाँ मोटर साइकल, कार लगायतका सवारीसाधन किनेर चलाइनु सामान्य रहेको स्थानीय बताउँछन् । जिल्लाका नेता, जनप्रतिनिधीहरु, सवृद्ध वर्गमा मानिसहरुले पनि भारतीय नम्बर प्लेटका सवारीसाधनहरु प्रयोग गर्ने गरेको स्थानीय बताउँछन् ।

जिल्लाका दक्षिणी भेगमा इलाकाहरुमा यस्ता सवारी साधनहरु छ्यापछ्याप्ति प्रयोग हुने गरेका छन् । यस्ता सवारी साधनहरुलाई नियन्त्रणमा लिने ट्राफिक प्रहरीको अभियान राम्रो भएपछि यसलाई केही दिनको रमझममा मात्र सिमित पार्न नहुने स्थानीय जितेन्द्र साहको भनाइ छ । यो अभियान केही दिन र केही स्थानहरु मात्र सिमित नराखि जिल्लाभर कडाइका साथ चलाइनुपर्ने उहाँको सुझाव छ ।

यता जिल्ला ट्राफिक प्रहरीले पहिलो दिन नियन्त्रणमा लिएका सवारी साधनहरुलाई छोडिदिन नेता तथा जनप्रतिनिधीहरुको सिफारिस आउन सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय श्रोतले जनाएको छ । यसरी सिफारि गर्नेहरुले तराइ मधेसमा भारतीय नम्बर प्लेटका सवारीसाधन चल्नु सामान्य भएको र यसलाई नियन्त्रण गर्न असम्भव भएकाले नियन्त्रणमा लिएकाहरुलाई छाडिदिन दवाव दिने गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV