३१ असार २०७८, बिहीबार

झापा । सर्वोच्च अदालतको फैसलाविरुद्ध निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा युवा विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्चको फैसला एवं राजनैनिक हस्तक्षेपको विरुद्धमा ओलीनिकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल झापा कमिटीले संयुक्तरूपमा बिर्तामोड स्थित मुक्तिचोकमा बुधबार साँझ मसाल जुलुससिहत विरोध प्रदर्शन गरेका हुन्।

एमाले ओलीनिकट युवा विद्यार्थीले ‘चोलेन्द्र हामी चिन्दैनौं, अदालती फैसला मान्दैनौं’, ‘नेपाली जनता के भन्छ, केपी ओलीले जे भन्छ’लगायत नारा लगाएका थिए ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीशले बहुदलीय व्यवस्था समाप्त गर्ने प्रपञ्च गरेको आरोप लगाउदै युवा विद्यार्थीले न्यायालयभित्र पूर्वाग्राही राजनीति प्रवेश गरेकोमा आपत्ति समेत जनाए।

विरोध प्रदर्शनमा जिल्लाभरका ठुलो संख्यामा युवा विद्यार्थीका नेता तथा कार्यकर्ताहरू भेला भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV