३० असार २०७८, बुधबार

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले मुलुकका सबै क्षेत्रमा बिजुलीको पहुँच पुर्‍याउने लक्ष्यका साथ काम गर्ने बताउनुभएको छ । बुधबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री भुसालले बिजुली बत्ती बाल्नै नपाउनेहरूको संख्या नेपालमा धेरै भएको भन्दै बिजुलीको पहुँच चाँडो पुर्‍याउनुपर्ने बताउनुभएको हो ।

उहाँले जलविद्युतको क्षेत्रमा धेरै लक्ष्य राख्ने तर, लक्ष्य पूरा नहुने क्रम दोहरिदै आएकाले त्यस्तो प्रवृतिलाई सुधार गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले नेपालमा लोडसेडिङ कहिल्यै नहुनेमा जोड दिनुपर्ने बताउनुभयो ।

आफूले काममा कुनै पूर्वाग्रह नराख्ने तर परिणाममुखी काम निकाल्नुपर्ने स्पष्ट पार्नुभयो । मन्त्री भुसालले देश र जनताको सपना पूरा गर्न आत्मसाथ गर्नुपर्ने बताउनुभयो । कृषि प्रधान देश भनिए पनि सिंचाईको समस्या ठुलो रहेको भन्दै उहाँले सबै कृषियोग्य ठाउँमा १२ महिना नै सिचाई पुर्‍याउनेमा लाग्नुपर्ने पनि बताउनुभयो ।

उहाँले अहिले बाढी–पहिरो र भुक्षय बढेको र विभिन्न निकायसँग समन्वय गरेर यसको रोकथाम तथा नियन्त्रणमा सक्दो कदम चाल्नुपर्ने धारणा उल्लेख गर्नुभयो । मंगलबार सपथ गर्नुभएको मन्त्री भुसालले बुधबार सिंहदरबार पुगेर पदभार सम्हाल्नुभएको हो । मन्त्रालयमा उहाँलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV