२९ असार २०७८, मंगलवार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा) । प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै संयुक्त विद्यार्थी संगठनले वीरगञ्जको घण्टाघरमा दीप प्रज्ज्वलन गरेको छ ।

सर्वोच्चले जनताको अधिकार रक्षाका लागि गरेको फैसलाको स्वागत गर्दै नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका पर्सा संयोजक कबिराज पटेको अध्यक्षतामा गरिएको दीप प्रज्ज्वलन कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं प्रदेश सहसंयोजकद्वय प्रभाकर गुप्ता र विश्वमणी सुवेदी, केन्द्रीय सदस्य जुवैर आलम, अखिल क्रान्तिकारीका स्वयंसेवक विभाग प्रदेश–२ प्रमुख इश्क कुमार, नेविसंघका पूर्व केन्द्रीय सदस्य सुधिर पटेललगायतले सम्बोधन गरेका थिए ।

उनीहरुले सर्वोच्च अदालतले जनताको हितमा फैसला गरेको जिकिर गरे । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पर्साका अध्यक्ष रामबाबु यादवले सञ्चालन गरेका कार्यक्रममा अखिल क्रान्तिकारी पर्साका सह–संयोजक संदीप विक्रम साह, एहसान अन्सारी, महानगर संयोजक विवेक कुमार साह, सोयव अलि, रामबाबु मण्डल, हिमाल सागर कुवँर, धर्मेन्द्र पटेल, अनेरास्ववियुका रंदिप श्रीवास्तव, युवा संघका पर्सा अध्यक्ष भूपेन्द्र साह लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच केपी ओली पक्षका विद्यार्थी नेताहरुले भने सर्वोच्च अदालतको निर्णय लोकतन्त्रको मर्म विपरित रहेको भन्दै विरोध प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाविरुद्ध राष्ट्रिय यूवा संघ नेपाल पर्साका कार्यकर्ताहरुले वीरगञ्जमा विरोध प्रदर्शन गरेका हुन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोश्रो पटक गरेकी संसद विघटन असंवैधानिक भएको भन्दै परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार संसद विघटनलाई बदर गरेको थियो ।

साथै, सर्वोच्चको आदेश अनुसार राष्ट्रपति भण्डारीले मंगलबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV