२९ असार २०७८, मंगलवार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा) । पर्सा प्रहरीले मालबाहक खाली कन्टेनरबाट ठूलो परिमाणमा अबैध लागूऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले खाली मालबाहक कन्टेनरसहितको ट्रकमा लुकाएर वीरगन्ज भन्सार नाका हुँदै भारत लैजाँदै गरेको अवस्थामा २ क्वीन्टल ४७ केजी लागू औषध गाँजा बरामद गरेको हो ।

हेटौँडाबाट मालसामान अनलोड गरेर भारत फर्कँदै गरेको एचआर ५५ एम २२०९ भारतीय नम्बरको (लहरी) कन्टेनर बोक्ने ट्रकमा २३ वटा पोकामा रहेको २ सय ४७ केजी गाँजा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो करिब २ बजेको समयमा वीरगन्ज सिर्सियास्थित ड्राइपोर्ट चोकमा उक्त गाडीलाई रोकेर चेकजाँच गर्दा खाली कन्टेनरभित्र फल्सबटम बनाएर लुकाइएको अवस्थामा उक्त गाँजा बरामद भएको थियो ।

कन्टेनर चेकजाँच गरिरहेकै बेला लहरीका चालक फरार भएकाले चालक पक्राउ पर्न नसकेको प्रहरी नायब उपरीक्षक खनालको भनाइ छ । बरामद गरिएको लागू औषध गाँजासहितको ट्रकलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV