२९ असार २०७८, मंगलवार
  • वियन तिम्सीना,

इलाम । उच्च अदालत विराटनगर इलाम इजलास इलाममा कार्यरत विमलादेवी पराजुलीको हत्या उनकै सुरक्षामा खटिएका प्रहरीले गरेको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मेलन गर्दै हत्यारालाई सार्वजनिक गरेको छ ।

सोमबार कार्यालय परिसरको बलेसीमा मृत फेला परेकी विमलाको हत्या नामसालिङमा दरबन्दी रहेर हाल मुख्य न्यायाधीशकै सुरक्षा गार्डका रुपमा कार्यरत प्रहरी युवराज बानियाले गरेको खुलेको हो । बानियाको पद भने प्रहरीले खुलाएको छैन, तर बानिया असई रहेको बताइएको छ ।

मुख्य न्यायाधीश हाल विदामा रहेकाले सो कोठाको चाबी सुरक्षा गार्ड बानियासँग नै रहेकाले सो स्थानमा घटना घटेको हुनसक्ने अनुमान प्रहरीको छ । अभियुक्तलाई सोमबार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार धनकुटा होलीखर्क ५ घर भइ इलाममा कार्यरत अभियुक्त बानिया र मृतक कर्मचारीबीच लामो समयदेखि सम्बन्ध रहेको खुलेको छ । उनीहरुबीच पैसाको बार्गेनिङ भएको बानियाको बयान उदृत गर्दै प्रहरी उपरीक्षक श्रेष्ठल बताए ।

मृतक महिलाको दाहिने नाडीमा चोट भएको बताइएको छ । बयानमा अभियुक्त बानियाले घाँटी थिचेर मारेको बताएको पनि प्रहरी प्रमुख श्रेष्ठले बताए । कार्यालय समयपछि सबै आ–आफ्नो घरतर्फ गएपनि मृत फेला परेकी महिला उच्च अदालत भित्र रहेको तरकारी बारीतर्फ गएको बताइएको छ ।

दुई जनाबीच भनाभन भएको र घटना घटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । मृतक महिलाले लगाएको करिव दुई तोलाको सिक्री समेत अभियुक्त बानिया बस्ने ठाउँबाट बरामत गरिएको छ । मुख्य न्यायाधीश बस्ने क्वाटरको कोठामा घटना घटाई घिसारेर लगेर बलेँसीमा फालेको अभियुक्त बानियाले दिएको बयानमा खुलेको छ ।

घटना पश्चात नै जिल्ला प्रहरी कार्यालय इलामले अभियुक्त तथा प्रहरी बानियालाई नियन्त्रणमा लिएको थियो । तर, थप अनुसन्धानका लागि संघीय प्रहरी इकाई धरानबाट कुकुर ल्याएइएको थियो । अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया विमला देवी पराजुली केही समय अघिदेखि उच्च अदालत इलाम विराटनगर इजलासमा कार्यरत थिइन् । उनको सव अर्धनग्न अवस्थामा अदालतकै बलेँसीमा घोप्टो अवस्थामा फेला परेको थियो ।

अभियुक्त बानियाले हत्या गरेको स्वीकार गरेपनि बलत्कार नगरेको प्रहरी समक्ष बयान दिएका छन् । यसका विषयमा समेत अनुसन्धान भइरहेको जनाइएको छ । स्थानीय तथा महिला अधिकारकर्मीहरुले २४ घण्टा सुरक्षा हुने ठाउँ र अदालतभित्र नै यस्तो घटना घटेकोमा चिन्ता ब्यक्त गर्दै आएका छन् ।

महिलाको शारीरिक परीक्षण गरि पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV