२९ असार २०७८, मंगलवार

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी–पहिरोबाट क्षतिग्रस्त मेलम्चीको पानी २०२१ मै काठमाडौं ल्याउने प्रबन्ध गरिएको बताउनुभएको छ ।

मंगलबार सिंहदरबार छाड्नु अगाडि देशबासीको नाममा सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘हामी पुनर्निर्माणका काममा लागेका छौं । हाम्रो मेलम्चीको मुहानमा समस्या परेको छ । र, त्यो समस्या हामी छिट्टै अन्त्य गर्ने र सन् २०२१ भित्रै मेलम्चीको पानी पुनः काठमाडौं ल्याउने हामीले प्रबन्ध गरेका छौं ।’

यस अगाडि उहाँले भन्नुभयो, ‘२६ गते म आफै मेलम्ची हेर्न गएको थिएँ । हालका लागि उहाँहरुले १ हजार बण्डल जस्तापाताको माग गर्नुभएको थियो, अस्थायी प्रबन्धका लागि । मैले पुग्दो गरी प्रयोग गर्नुस् भनेर १५ सय बण्डल जस्तापाताको प्रबन्ध गराउने घोषणा गरेको छु ।’

त्यस्तै, उहाँले मेलम्चीबासीको अस्थायी प्रबन्धका लागि ५० हजार रुपैयाँ हरेक परिवारलाई उपलब्ध गराउने घोषणा गरेको जानकारी पनि गराउनुभएको छ । साथै, उहाँले हिमाली भेगमा ५ लाख, पहाडी क्षेत्रमा ४ लाख र तराई क्षेत्रमा ३ लाखका दरले प्राकृतिक विपत्तीमा परेका जनतालाई सहयोग उपलब्ध गराउने घोषितनीति नै रहेको पनि जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV