२८ असार २०७८, सोमबार

झापा । जनप्रतिनिधिले बेवास्ता गर्दा झापाको मेचीनगर नगरपालिका वडा नम्बर ३ बडाखाल स्थित गोकुल मार्गमा अहिले खोला कुद्ने गरेको छ । खोला कुदेपछि अहिले उक्त सडक खण्डमा यात्रा गर्न नै असहज भएको स्थानीयले गुनासो गरेका छन् ।

समस्याको बारेमा बारम्बार जनप्रतिनिधि र सम्बन्धित निकायलाई आग्रह गर्दा समेत उनिहरूले बेवास्ता गरेको स्थानीयले आरोप लगाएका छन् ।

मेचीनगरको ब्यस्त सडक मध्येको एक गोकुल मार्गमा जनप्रतिनिधि र सम्बन्धित निकायले चासो नदिदा महल्या चोक देखि बडाखालसम्मको सडकमा पानी कुदेर सर्वसाधारणलाई यात्रा गर्न नै समस्या भएको बताउँछन् स्थानीय अर्पन प्रधान ।

हिउँदमा धुलाम्यै हुने तथा बर्खायाममा खोला कुदेर यात्र गर्न नै कठिन हुने उक्त सडकको समस्याबारे सम्बन्धित निकायलाई बारम्बार अवगत गराउदा पनि बेवास्ता गरेको भन्दै केही समय अघि स्थानीयले उक्त सडक खण्ड केहीदिन बन्द गरेर जनप्रतिनिधिको ध्यानाकर्षण समेत गराएका थिए ।

तर सम्बन्धित निकायले चासो नदिदा अझै सो सडक खण्डको समस्या समाधानमा हुन सकेको छैन । सडक मर्मत हुन नसक्दा यात्रुले भनेको समयमा आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन् ।

दुई सय मिटर अगाडि सम्म ब्यवस्थित कालोपत्रे सडक, दुई किलोमिटर पछाडि पनि कालोपत्रे सडक नै तर बिचको करिब दुई किलोमिटर सडक खण्ड भने जनप्रतिनिधिको बेवास्ताका कारण हिउँदमा धुलाम्यै र बर्खायाममा खोला कुदेर समस्या हुने गरेको बडाखाल टोल विकास संस्थाका अध्यक्ष मनिकुमार सुनुवारले बताए ।

कच्ची बाटो त्यसमा पनि पानी कुदेर गाडी हल्लिने, फस्ने, हिल्याम्मै हुनेलगायतका समस्या भएकाले यात्रुलाई अहिले यात्रा गर्न निकै दुख हुने गरेको बडाखाल टोल विकास संस्थाका अध्यक्ष सुनुवारको भनाई छ ।

यो बिषयमा सम्बन्धि वडा कार्यालयसंग बुझ्दा आफुहरू लागि परेको र चाँडो नै उक्त समस्याको समाधान हुने बताउदै पन्छिएका छन् ।

दैनिक सयौंको संख्यामा मानिसहरू आवतजावत गर्ने सडकमा यसरी नै सम्बन्धि निकायले बेवास्ता गर्ने हो भने ठुलो दुर्घटना ननिम्तिएला भन्न सकिदैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV