२८ असार २०७८, सोमबार

काठमाडौँ । नेकपा एमाले असन्तुष्ट पक्षका नेता माधवकुमार नेपालले पार्टीको विवाद समाधानबारे कार्यदलले तयार पारेको १० बुँदे सहमतिप्रति आफ्नो प्रतिक्रिया दिएका छन् ।

सहमतिका बुँदा सार्वजनिक भएको भोलिपल्ट (आज) नेता नेपालले सामाजिक सन्जालमार्फत आफू आफ्नो मान्यता र अदालतमा बुझाएको हस्ताक्षरमा दृढ रहेको बताएका छन् । साथै उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएकाे प्रतिक्रिया सहमति गर्दा भएको छलफलको मर्मविपरित रहेको  पनि बताएका छन् ।

‘हिजो राति नेकपा (एमाले) को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ। यो व्याख्या गलत र अस्वीकार्य छु,’ नेता नेपालले लेखेका छन्, ‘अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा (एमाले) का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।’

के छ सूर्य थापाकाे स्टाटसमा ?

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले अब शेरबहादुर देउवाकाे साथमा १२३ सांसदकाे मात्रै हस्ताक्षर बाँकी रहेकाे भन्दै स्टाटस लेखेका छन् । माधव पक्षका सांसदकाे हस्ताक्षर फिर्ता भएकाे सन्देश जाने यस सटाटसकाे खण्डनमा नेता नेपालले स्टाटस लेखेका हुन् ।

थापाले भनेका छन्, ‘अब शेरबहादुर देउवाकाे साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६-२३ = १२३ मात्र, सर्वाेच्चद्वारा न परमादेश न पुन:स्थापना ! मच्चियाे मच्चियाे, जेठाे नराम्ररी थच्चियाे !! जय नेपाल !!!’

प्रतिक्रिया दिनुहोस्

LIVE TV