२७ असार २०७८, आईतवार
  • हरिशंकर शर्मा,

वीरगंज (पर्सा) । पर्साको कालिकामाई र छिपहरमाई गाउँपालिका जोड्ने सिकटा नदीमा निर्माण गरिएको झुलुङ्गे पुलको मुनिबाट माटो कटान गरिएको कारण एकपट्टीको साइड भासिदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।

पुलमा चढ्न दुबै छेउमा निर्माण गरिएको पक्की सडकको दुबै तर्पबाट ठेकेदारहरुले सडक निर्माणको लागि माटो कटान गरेको कारण एकपट्टीको सडक भासिदा त्यस क्षेत्रका सर्वसाधारणहरु जोखिमपूर्ण आवत जावत गर्न बाध्य छन् ।

जिल्लाको कालिकामाई गाउँपालिका र छिपहरमाई गाउँपालिकाको सीमा सिकटा नदीले जोडेको छ । दुई पालिकाको दूरी कम गर्न पञ्चायतकालमा निर्माण गरिएको झुलुङ्गे पुलको बिम्ब मुनिबाटै माटो कटान गरिएको कारण एकतर्फको साइड पूर्ण रुपमा भासिएको छ ।

नदी छेउबाट स्काभेटर लगाएर पुलमुनीबाट माटो निकालिएको कारण एकतर्फको सडक भासिएर पुल नै भत्किने जोखिम बढेको स्थानीयहरुको भनाइ छ । माटो खन्दा एकतर्फको साइड भासिसकेको कारण जोखिम मोलेर स्थानीय आवतजावत गर्न बाध्य भइरहँदा सम्बन्धित निकायको अहिलेसम्म ध्यान पुग्न नसकेको स्थानीयहरुको गुनासो छ ।

जताततै अहिले विकास निर्माणको नाममा सार्वजनिक जग्गाको माटो खनेर बाटोमा पुर्ने चलनको परिणाम पुल जोखिमपूर्ण अवस्थामा पुगेको उनीहरुको भनाइ छ । ठेकेदारले सडकमा माटो पुर्न उपभोक्ता मार्फत ठेक्का लिएपनि बढी मुनाफा कमाउने मनसायले नदी छेउमा रहेको सार्वजनिक जग्गाबाट स्काभेटर लगाएर माटो निकाल्ने गरेका छन् ।

नदी छेउको माटो निकालिसकेपछि आएको बाढीले पुलको पायामुनिको माटो बगाइसकेको छ । बाढीले माटो बगाएका कारण पुलको एकतर्फको ढलान गरिएको पक्की सडक पनि भासिसकेको छ । त्यस्तै, भासिएको साइड मर्मत गर्नुको साटो ठेकेदारले झन माटो निकाल्ने काम गरिरहेका छन्, जसले गर्दा पुल नै ध्वस्त हुने जोखिम बढेको स्थानीयहरुको भनाइ छ ।

नदी छेउबाट दैनिक २० देखि ३० ट्याक्टर माटो निकाल्ने गरिन्छ । स्काभेटर चालक अरबाज आलमले पनि पुल नजिकैको माटो निकालेपछि पुलमा असर गर्ने बताए । उनका अनुसार आफूले यहाँ खन्न नआएको भन्दै भने, ‘हाम्रो स्काभेटर भाडामा चल्ने हो, जुन ठाउँबाट खन्ने आदेश आउँछ त्यहाँबाट हामीले माटो खन्ने गरेका छौं । बाँकी कुरा सम्बन्धित व्यक्तिसँग सोध्नुस् ।’

बन्जारी गाउँदेखि झुलुङ्गे पुलसम्मको सडकको अवस्था पनि दयनीय छ । ठाउँ ठाउँमा सडक भत्केर पानी जमेको छ । पुल मुनीबाट ट्याक्टरमा माटो ओसार्ने काम गरेपनि भत्केको सडकमा माटो हालिएको छैन । जनतालाई आवत जावत गर्न समस्या भएपनि ठेकेदारले एक ट्याक्टर माटो समेत पानी जमेको सडकमा खसालेको छैन ।

यसबारे छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले झुलुङ्गे पुलको मुनिबाट माटो खनेकोबारे आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘प्रदेश सरकारको योजनामा बन्जारीमा बाटो ढलानको काम भइरहेको छ । कच्चीसकडमा माटो पुर्न त्यहाँबाट माटो खनेर ल्याएको हुनसक्छ ।’

सार्वजनिक जग्गाको माटो काट्न आफूसँग आधिकारी ईजाजत नलिएको उनले बताए । पञ्चायकालमा वडा समितिको पहलमा उक्त झुलुङ्गे पुल निर्माण गरिएको हो । पुलको एक साइड भासिएको बारे आफूसमक्ष जानकारी आइसकेको र निर्माणको लागि आवश्यक बजेट समेत छुट्याइसकेको हुनाले मर्मत सम्भार गर्ने र माटो खन्ने र ईजाजत दिने व्यक्तिलाई पहिचान गरी कारवाही समेत गर्ने उनले बताए ।

नेपाल–भारत सिमाना पर्सा जिल्लाको दोश्रो नाका छिपहरमाई गाउँपालिकाको भिस्वा बजार पर्छ । कालिकामाई गाउँपालिका, पोखरीया नगरपालिका लगायत आधा दर्जन गाउँपालिकाका स्थानीयले घरासयी समान खरिद गर्न सीमा बजार भिस्वा सिकटा पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV