२७ असार २०७८, आईतवार
  • दिलिप शहनी,

महोत्तरी । गत जेठ १९ गते आफ्नै घरबाट बेपत्ता भएकी महोत्तरीको लोहरपट्टी नगरपालिका-७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव भेटिएको छ । आइतबार सुजिताको ससुराको पेट्रोल पम्प नजिकै निर्माणाधीन शौचालयको ट्याङ्कीमा शव भेटिएको हो ।

व्यापक खोजतलास पश्चात सुजिताको शव आइतबार बिहान आफ्नै पेट्रोल पम्पको नजिकैको निर्माणाधीन शौचालयको ट्याङ्कीमा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीका अनुसार शौचालयमा भेटिएको शव सुजिताकै रहेको माइत पक्षले सनाखत गरेको हो । सुजिताको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

यसअघि असार १३ गते बेपत्ता सुजिताको शवको अवशेष (कपाल, चुरा, डोरी, नुनको प्याकेट, कपडा)लगायतका सामग्रीहरु घरभन्दा एक किलोमिटर पर खेतमा गाडेको अवस्थामा फेला परेको थियो ।

माइत पक्षले छोरी सुजिताको हत्या भएको दाबी गर्दै आएको छ । सुजिताकी पाँच वर्षीय छोराले आमाको हत्या भएको पोल खोलेका थिए । सुजिताको शवको अवशेष फेलासँगै प्रहरीले सोही दिन उनका श्रीमान मुकेश ठाकुर, देवर रुपेश ठाकुरलाई सोधपुछ गरेर छोडेको थियो ।

शवको अवशेष फेला परेपछि एकसाता अघि माइत पक्षले कयौं प्रयासपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पति, देवर, सासुसुरा देवरानीलगायत ६ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV