२७ असार २०७८, आईतवार

काठमाडौं । पेट्रोलियम पद्धार्थमा भएको मूल्यबृद्धि फिर्ता नभएको भन्दै विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले थप आन्दोलनको घोषणा गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विपक्षी विद्यार्थी गठबन्धनले मूल्यबृद्धि फिर्ता गर्नका लागि ७२ घण्टे अल्टिमेटम दिदाँ पनि आयल निगमले मूल्यबृद्धि फिर्ता नगरेको भन्दै थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संगठनले असार २८ गतेदेखि आयल निगमका गाडीहरु चल्न नदिने र असार २९ गते पेट्रोलियम ढुवानी र बिक्रि गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्याङ्क सञ्चालन नगर्न अनुरोध गर्ने जनाएका छन् ।

त्यस्तै असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने चेतावनी उनीहरुले दिएका छन् । आगामी आन्दोलनमाथि दमन गरिएका त्यसबाट हुन सक्ने क्षतिको सम्पूर्ण जिम्मेवार सरकार हुने अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।

त्यस्तै नेविसंघका अध्यक्ष राजिब ढुङ्गानाले निगमले आफूहरुको मागलाई वास्ता नै नगरेको आरोप लगाए । उनले मनोमानी रुपमा नै निगमले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेकाले आन्दोलन गर्न बाध्य भएको बताए ।

त्यस्तै अनेरास्ववियु माधव पक्षका अध्यक्ष सुदेश पराजुलीले सरकारबिरुद्ध गरिएको आन्दोलनलाई सशक्त पार्ने बताए । उनले ओलीले आफ्नो गल्ती नसच्चाएसम्म विद्यार्थी गठबन्धनको आन्दोलन नरोकिने बताए ।

पत्रकार सम्मेलनमा शैक्षिक क्षेत्रमा देखिएका वेथिति, राजनीतिक मुद्दालगायतका विषयमा गरिएको सघंर्षलाई पनि निरन्तरता दिने जनाएका छन् । विपक्षी विद्यार्थी संगठनले सरकारविबरुद्ध निरन्तर आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV