२७ असार २०७८, आईतवार

काठमाडौं । संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्यले पनि प्रधामन्त्री बन्न पाउनुपर्ने प्रावधानको वकालत गर्दै आएका नेकपा एमाले उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउनुपर्ने व्यवस्था लागू गर्न पुनः जोड दिएका छन् ।

आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले बेलायतको नक्कल गरेर राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न नपाउने व्यवस्था हटाउनपर्ने आवश्यक्ता रहेकोमा जोड दिए ।

उनले भने, ‘हामीले बेलायतको नक्कल नगरेका हौँ भने, हामी हाउस अफ लर्ड भएर बसेका होइनौँ भने, जनताको प्रतिनिधि हौँ भने प्रतिनिधिसभा र राष्ट्रियसभाबीच यति फरक छ– यो निर्वाचनमण्डलबाट हुन्छ र त्यो प्रत्यक्ष निर्वानबाट बन्छ । पोहोर साल मैले एउटा विषय उठान गरेको थिए । मलाई प्रधानमन्त्री अध्यक्ष कमरेडले कुनै क्षेत्रबाट राष्ट्रियसभामा उठ्नुहोस् भने । मैले मानिन । त्यसो भए राष्ट्रियसभामा उठ्नुस भन्नुभयो । मैले उठ्दिन भने । तपाई किन उठ्नुहुन्न भन्नुभयो ? मैले भने- राष्ट्रियसभा र प्रतिनिधिसभाबीचको विभेद अन्त्य गरिदिनुस् । कसरी विभेद अन्त्य हुन्छ भन्दा राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री बन्ने व्यवस्था गराउनुस् । किनकि बेलायतको त्यो नक्कल गरेको हुनाले राष्ट्रियसभाका सदस्यले चाहिँ शासन गर्न पर्दैन भन्नेछ । त्यो हटाइदिनुस्, संविधान संशोधन गर्नुस् भन्दा यति मेरो चरित्र हत्या भो । फेरि पनि त्यो बहस उठाउन चाहन्छु ।’

उपाध्यक्ष गौतमले राष्ट्रियसभाको पूरा अर्थ पनि लगाएका छन् । उनका अनुसार हाम्रो राष्ट्रियसभा अंग्रेजीमा नेसनल एसेम्बली हो ।

उनले भने, ‘नेसनल एसेम्बलीको अर्थ-अप्पर हाउस भन्ने हुँदैन । हाउस अफ नेहेनलिटिज पनि हुँदैन । तर, भन्छन् त्यहीँ । हाम्रो नेसनल एसेम्बली हो, सिंगो राष्ट्रको प्रतिनिधित्व हुन्छ । र, यो स्थायी सभा हो । किनभने प्रतिनिधिसभा स्थायी सभा छैन ।’

साथै, हरेक पाँच वर्ष प्रतिनिधिसभा निर्वाचन भए पनि राष्ट्रियसभा निर्वाचन कहिल्यै नहुने पनि उनको तर्क थियो । उनले भने, ‘हरेक वर्ष वा प्रधानमन्त्रीले कुनैबेला अविस्वास प्रस्ताव गरि संसद भंग गर्ने हुने भएकाले र हरेक पाँच वर्षमा प्रतिनिधिसभा फेरिन्छ तर, राष्ट्रियसभा फेरिँदैन । निरन्तर जारी हुन्छ । निरन्तर जारी हुनु भनेको प्रतिनिधिसभा नभएको बेला राष्ट्रियसभाले काम गर्न पाउनुर्छ । काम गर्न पाउनुपर्छ भनेर नै त्यस्तो बनाइएको छ ।’

यसअघि उपाध्यक्ष गौतमले पार्टीको किचलो र त्यसमा आफ्नो उपस्थितिबारे पनि प्रष्ट्याएका छन् । उनका अनुसार आफूले बैठकमा पार्टीको कुरा गर्न नहुने भए पनि बाध्यतावश र विषयवश कुरा गर्नुपर्ने आवश्यक्ता देखेको बताए ।

उनले भने, ‘पार्टीको विषयमा कुरा गर्न त नहुने हो तर, कुरा आइहाल्छ । पहिले नेकपा हुँदा कतै पनि सामेल भइन । सकिन । अहिले एमाल पुनस्र्थापित भइसकेपछि मैले जिम्मेवारी निर्वाह गर्नु पर्यो । पार्टी अध्यक्ष कमरेड ओलीले २०७५ जेठ २ को अवस्थामा फर्काउन बैठक डाकिएपछि मैले भाग लिए । बाहिर ओलीतिर गयो भन्ने हल्ला चल्यो । तर, म यस सभामार्फत् सबैलाई भन्न चाहन्छु–म कुनै तर्फ गइन, एमाले भएको प्रमाण पेश गर्न गएको हो ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV