२७ असार २०७८, आईतवार

पोखरा । गण्डकी प्रदेशका दुई विनाविभागीय मन्त्रीहरुले शुरुमा ‘लिन्नँ’ भनेकै मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । सुरुमा मुख्यमन्त्रीले तोकिदिएका मन्त्रालय लिन अस्वीकार गरे गरेका दीपक मनाङे र हरिशरण आचार्यले अन्ततः एक महिनापछि सोही सम्हालेका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज हुन लागेको बजेटमाथिको छलफल कार्यक्रमअघि नै विवादित मन्त्रालयको विषयलाई टुङ्गो लगाउँदै मन्त्रालयको बाँडफाँट गरेका हुन् ।

यसअघि अर्थ मन्त्रालयमा दावी गरिरहेका जनता समाजवादी पार्टीका हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालय नै सम्हालेका छन् भने भौतिक पूर्वाधार मन्त्रालयमा दावी गरिरहेका स्वतन्त्र सांसद दीपक मनाङेले युवा तथा खेलकुद मन्त्रालयकै जिम्मेवारी आज आइतबारबाट सम्हालेका  हुन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा १२ सदस्यीय मन्त्रीमण्डल बनाउन सक्ने संवैधानिक व्यवस्था भए पनि यसअघि सरकार नै संकटमा पर्दा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ मन्त्रीमण्डलबाट ११ मा पुर्याएका थिए । अहिले नयाँ गठन भएको सरकारभित्र पनि मन्त्रालयको किचलो कायमै भएपछि थप १ मन्त्रालय बढाएर १२ पुर्याउने विषयमा छलफल चलिरहेको छ ।

जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका पोखरेलले सत्ता पक्ष गठबन्धनका चारदलहरुमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । शुरुमा नियुक्त भएका ४ मन्त्रीमध्ये दुई मन्त्रीले असहमति जनाएपछि मन्त्रालयको टुङ्गो लगाउने जिम्मा केन्द्रीय नेतालाई सुम्पिएको थियो ।

गण्डकी प्रदेशमा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयमा नेपाली कांग्रेसका कुमार खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माओवादीका मधुमाया अधिकारीले जिम्मेवारी लिएका थिए । तर त्यतिबेला जसपाका आचार्य र स्वतन्त्र सांसद मनाङेले अस्वीकार गरेको मन्त्रालय १ महिनापछि आएर सम्हालेका हुन् ।

किचलो अझै कायमै

दुई मन्त्रीको मन्त्रालय टुङ्गो लागे पनि प्रदेश सरकार भित्र किचलो भने अझै कायमै छ । माओवादी र कांग्रेसले अर्थ र भौतिक मन्त्रालय बिचमा अझै टुङ्गो लगाउन सकिरहेका छैनन् । मुख्यमन्त्री पोखरेल सरकार सञ्चालनका लागि अर्थ मन्त्रालय आफैसँग राख्न चाहन्छन् । यता, माओवादीले अर्थ वा भौतिक मन्त्रालय मध्ये एक चाहिने अडान कायमै राखेको छ ।

मन्त्रालय बाँडफाँटमा समस्या भईरहेको बेलामा माओवादी भित्र भने को मन्त्री बन्ने भन्ने विषय अझै टुङ्गिएको छैन । सरकार गठन भएको १ महिना बितिसक्दा माओवादीका तर्फबाट को को मन्त्री बन्ने भन्ने विषय आन्तरिक रुपमा सहमति हुन नसकेपछि यसको जिम्मा केन्द्रीय नेताले लिएका छन् ।

बजेटमाथि छलफल

आज गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमाथिको छलफल हुँदैछ । बजेट पास भए लगत्तै मुख्यमन्त्री पोखरेलले थप मन्त्रिपरिषद्को विस्तार छिट्टै हुने अभिव्यक्ति सार्वजनिक गरेका छन् । सत्ता पक्ष गठबन्धनमा मन्त्रालय बाँडफाँट र को मन्त्री बन्ने भन्ने विषयमा किचलो देखिएपछि मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् विस्तार नगरी शुरुमा विश्वासको मत लिएका थिए ।

विश्वासको मत लिने दिन जसपाका दुई सांसद गायव भएपछि मुख्यमन्त्री पोखरेलले अर्थमन्त्रालयसहित जसपाका दुई जना सांसदलाई नै मन्त्री बनाउनु पर्ने लगायतका ४ बुँदे मागमा सहमति जनाएका थिए । सोही सहमति कार्यान्वयन गर्न पर्छ भन्दै जसपाका मन्त्री आचार्यले सहमति जनाउँदै आए पनि पुरानै मन्त्रालय लिने सहमति भएपछि १ महिनादेखिको विवाद टुङ्गिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV