२७ असार २०७८, आईतवार

काठमाडौं । अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले आफ्नो करिअरको पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । आइतबार बिहान भएको खेलमा मेस्सीले कोपा अमेरिकाको उपाधि जित्न सफल भएका हुन् ।

निकै प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्यो । अर्जेन्टिनालाई उपाधि दिलाउनको लागि विंगर एन्जल डी मारियाले गोल गरे । उनले खेलेको २२ मिनेटमा रोड्रीगो डे पलले दिएको लामो पासमा गोल गरेका थिए ।

मेसीले यसअघि अर्जेन्टिनाको जर्सीमा चार वटा फाइनल खेले पनि उपाधि जित्न सकेका थिएनन् । पटक(पटक फाइनल पुगेर पनि उपाधि जित्न नसकेको अर्जेन्टिनाले १९९३ पछि पहिलो पटक कोपा अमेरिकाको उपाधि जितेको हो ।

अर्जेन्टिना २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकाको फाइनलमा पुगेको थियो । त्यसअघि उनी टोलीमा रहँदा सन् २००७ मा पनि अर्जेन्टिना कोपाको फाइनलमा पुगेको थियो । तर, चारैपटक अर्जेन्टिना फाइनलमा पराजित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV