२६ असार २०७८, शनिबार
  • विदुर गिरी,

सिन्धुपाल्चोक । मेलम्ची बाढीले विध्वंस मच्चाएको २५ दिनपछि प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्तिको बेला राजनीति गर्न नहुने बताउनुभएको छ । उहाँले सबै मिलेर विपत्तिको सामना गर्नु पर्ने धारणा राखिरहदा बाढी पीडित मेलम्चीवासीले भने भ्रमण र आश्वासन भन्दा पनि बाँकी बस्ती जोगाउन तटबन्ध तत्काल बनाइदिन माग गरेका छन् ।

मेलम्चीले क्षणभरमा नै प्रभावित क्षेत्रका जनतालाई सडकमा पु¥याएको छ । यही प्रभावित क्षेत्रमा २५ दिनपछि पुग्नुभएका प्रधानमन्त्री ओलीले वसतीको पुर्ननिर्माणका लागि यथाशक्य छिटो कामहरु गरिने आश्वासन दिनुभयो । तर विपत्तिको बेलामा राजनीति भने गर्न नहुने उहाँको आग्रह थियो ।

गत असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले विस्थापित गराएको हेलम्बु गाउँपालिका, पाँचपोखरी गाउँपालिका र मेलम्ची नगरपालिकाका ३ सय ६६ घरलाई आवश्यक जस्ता पाता र प्रतिपरिवार ५० लाख तत्काल उपलब्ध गराइने पनि प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले बाढीका कारण क्षति भएको पुल तथा बाटोहरुको तत्काल निर्माण कार्य सुरु गरिने बताउनुभयो । स्थानीय स्तरबाट तत्काल बेलिबृज निर्माण गरिदिन माग गरिएको भएतापनि पक्की पुलनै छिटै निर्माण गरिने प्रतिवद्धता पनि प्रधानमन्त्री ओलीको थियो ।

बाढी गएको करिब एक महिनापछि हवाइ अवलोकनमा निस्किएका प्रधानमन्त्री ओलीले हेलम्बु गाउँपालिकाको गणेशे बगर पुगेर स्थानीयसंग भेटघाट गर्नुभएको थियो । यस्तै मेलम्चीमा औपचारिक कार्यक्रमलाई सम्बोधन समेत गर्नुभएको थियो ।

त्यस्तै बिस्थापितहरुको सहयोगार्थ मेलम्ची खानेपानीले प्रधानमन्त्री मार्फत हेलम्बु गाउँपालिकालाई १ करोड ५० लाख, पाँचपोखरी गाउँपालिकालाई १ करोड ५० र मेलम्ची नगरपालिकालाई ५० लाखको चेक हस्तान्तरण गरेको छ ।

बाढी पीडित स्थानीयवासीले भने प्रधानमन्त्री भ्रमण गर्ने र आस्वासन दिने भन्दापनि बाँकी बस्ती जोगाउन तटबन्ध गरिदिन माग गरेका छन् । आफ्नो पुरिएको सामान निकाल्न र थप जोखिमबाट बचाउन लागि पहल गर्न पनि पीडितको माग थियो ।

कार्यक्रममा मेलम्ची पानेपानी प्रभावित क्षेत्रमा सामाजिक उत्थानको कार्यक्रम सञ्चालन गर्दै आएको साउका समितिले हेलम्बु गाउँपालिकालाइ १ करोड र मेलम्ची नगरपालिकालाई ६० लाखको चेक हस्तान्तरण गरेको थियो ।

  

प्रतिक्रिया दिनुहोस्

LIVE TV