२६ असार २०७८, शनिबार
  • भगतराम थारु,

नेपालगञ्ज । नेपालगञ्जबासीको लागि ठूलो सपना थियो, तर त्यो सपना नेपालगञ्ज उपमहानगरपालिकाले चकनाचुर बनाएको छ । नेपालगञ्ज शहर नगरपालिकादेखि उपमहानगरपालिका भइसक्यो, अझ महानगर बनाउने कुरा चलिरहेको छ ।

बढ्दो शहरीकरणको चाप र जनसंख्या उस्तै गतिमा बढिरहेको छ । बढ्दो जनसंख्यासँगै नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न स्थानमा केही वर्ष अगाडि आकाशे पुल निर्माण गर्नका लागि डीपीआर तयार भयो र नेपालगन्ज उपमहानगरपालिकाबाट बजेट पनि पारित गरियो ।

नगरबासीका लागि खुसीको खबर थियो कि अब केही समयपछि नेपालगञ्ज शहरमा पनि आकाशे पुल निर्माण हुन्छ भनेर । आकाशे पुलको लागि ठेकेदारलाई ठेक्का सम्झौता पनि गरियो र बजेट पनि ठेकेदार कम्पनीले निकाशा ग¥यो, तर विडम्बना अब नेपालगन्जमा आकाशे पुल निर्माण नहुने देखिएको छ ।

यस आर्थिक वर्षमा नेपालगन्ज उपमहानगरपालिकाले आकाशे पुलको लागि छुट्याएको बजेट नै विनियोजन गरेन । जसको कारण नगरवासी दुखी भएका छन् । कहिले बन्ला आकाशे पुल ? भनिरहने नेपालगञ्जबासीको सपना चकनाचुर भएको छ ।

बढ्दो जनसंख्या र सवारी साधनका कारण धम्बोझी क्षेत्रमा ट्राफिक नियन्त्रण गर्न निकै समस्या हुन थालेपछि नेपालगन्ज नगरपालिकाले सो निर्णयलाई सहजताका साथ स्वीकार गरेको थियो । आकाशे पुल बनेपछि नगरको रौनक झन बढ्ने र आवागमन सहज हुने विश्वास रहेको नेपालगञ्जबासीको लागि यस वर्ष भने दूर्भाग्य रहेको स्थानीय व्यवसायी नन्दालाल बैश्यले बताए ।

‘अहिलेको विकासक्रमले स–सानो शहरमा पनि आकाशे पुल आवश्यकता छ तर, प्रदेश ३ कै ठूलो शहरमध्ये पर्ने भएको हुनाले यहाँ त झनै आवश्यता छ । तर के कति कारणले आकाशे पुलको योजना यस बर्ष नगरले पारेन । यसमा हामी सबैको घोर आपत्ती छ’, उनले भने ।

नेपालगन्ज उपमहानगरपालिकाले सबैभन्दा बढी ट्राफिक जाम हुने स्थान धम्बोझी चोकमा ‘आकाशे पुल’ बनाउने निर्णय गरेपछि गत आर्थिक बर्ष बजेट पनि विनियोजन गरेको थियो ।

डीपीआरको लागि ठेकेदारलाई रकम पनि दिइयो तर, ‘हात्ती आयो हात्ती आयो फुस्स’ भने झै यसवर्ष भने नेपालगञ्ज नगरले आकाशे पुलको लागि योजना नै कुम्ल्याएको छ । यसको लागि नेपालगन्जवासीले घोर विरोध जनाएको र मेयरको मनोमानीतन्त्र भएको नेपालगन्ज उपमहानगरपालिका ७ का वडा अध्यक्ष जुम्मन खाँले भने ।

‘नेपालगञ्जबासीका लागि आकाशे पुल अति आवश्यकता भित्र पर्छ । बरु अन्य ठाउँको योजना कटौती गरेर पनि आकाशे पुलको लागि बजेट विनियोजन गर्नुपर्छ । मेयरको मनोमानीतन्त्रले आकाशे पुलको योजना अन्यत्र सारिएको हो’, वडा अध्यक्ष खाँले भने ।

नगरप्रमुख डा.धवल समशेर राणाले उपमहानगरपालिकाले आकाशे पुलका लागि एक करोड ६५ लाख २ सय १४ रुपैयाँ बजेट विनियोजन गरी सोही अनुसारको टेण्डर आव्हान गरेको जानकारी गराए । उनका अनुसार डीपीआरको लागि केही बजेट पनि ठेकेदारलाई दिइएको छ, तर ठेकेदारले पैसा भने फिर्ता दिएको छैन् ।

तर आकाशे पुलको लागि यस वर्ष अन्ततः योजना नै कार्यपालिकाबाट सदर नभएको उनले जानकारी गराए । ‘गतबर्ष बजेट छुट्याइसकेको थियो’, उनले भने, ‘छिटै डीपीआरको काम सुरु गरि नेपालगन्जलाई नमूना सहर बनाउने क्रममा यो एक कदम चालिएको हो ।

यस बर्ष योजनामा नै नपरेपनि अब आउने मेयरलगायतका जनप्रतिनिधिले आकाशे पुल बनाउनेमा उनले विश्वस्त व्यक्त गरे । बाँकेको नेपालगन्ज शहर पश्चिम नेपालकै ठूलो शहर मानिन्छ । यहाँ हरेक धर्म समुदायको बसोबास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV