२५ असार २०७८, शुक्रबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु । कपिलवस्तुको तैलिहवामा तीन सञ्चारकर्मीलाई सम्मान गरिएको छ । वन तथा वातावरण संरक्षणको क्षेत्रमा सहयोग पु¥याएका जिल्लाका तीन सञ्चारकर्मीसहित ६ जनालाई तौलिहवाका आयोजित मिडिया–साझेदारी वन अन्तरक्रियामा सम्मान गरिएको हो ।

तिलौराकोट साझेदारी वन व्यवस्थापन समिति र डिभिजन वन कार्यालय कपिलवस्तुको आयोजनामा अन्तरक्रिया गरी पत्रकारलाई सम्मान तथा अनुगमन गराइएको हो ।

वन तथा वातावरण पुरस्कारबाट पत्रकार वृजेश कुमार जयसवाललाई सम्मान गरिएको छ । उनलाई तिलौराकोट साझेदारी वन व्यवस्थापन समितिका संयोजक जयप्रकाश पाण्डेय र डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजनल वन अधिकृत ईश्वरी प्रसाद पौडेलले सो पुरस्कारबाट सम्मान गरेका थिए ।

नगद १० हजार र प्रमाणपत्रसहित पुरस्कृत भएका पत्रकार जयसवाल फोटो पत्रकारको रुपमा परिचित छन् । त्यस्तै, तिलौराकोट साझेदारी वन व्यवस्थापन समितिले पत्रकार पार्वती आचार्य तथा पत्रकार मनिश कार्कीलाई उत्कृष्ठ साझेदारी वन पत्रकारिता पुरस्कार प्रदान गरेको थियो ।

तिलौराकोट साझेदारी वनले वन वातावरण तथा बैज्ञानिक वन व्यवस्थापनमा लामो समयदेखि वकालत गर्दै आएका संविधानसभा सदस्य दान बहादुर चौधरी, निजी वन प्रर्बद्धन गरे बापत यशोधरा गाउँपालिका १ का शिवदयाल तिवारी तथा कबनपा ५ का विक्रम बरईलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा समितिले सञ्चालन गरिरहेको कबनपा २ स्थित स–मिल बारे जानकारी दिदै व्यवस्थापक ध्यानेन्द्रमणि त्रिपाठीले मिलले चालू आर्थिक वर्षमा गरेका काठ चिरान, विक्री, समुहलाई दिएको काठको विवरण र नाफा नोक्सान प्रष्ट्याएका थिए ।

वनको पहुँचमा नरहेका टाढाका उपभोक्ता समेत गरि २५ हजार घरधुरीलाई काठ दाउरा उपलब्ध गराउदै आएकोमा सरकारले बैज्ञानिक वन व्यवस्थापनको कार्यविधिमा रोक लगाउदा उपभोक्ता मारमा परेको समितिका सदस्य शिवलाल यादवले गुनासो गरे ।

तिलौराकोट साझेदारी वनले स्वीकृत गरेको बैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना नेपाल सरकारले खारेज गरेको र त्यसपछिको अवस्था अन्यौल भएकाले द्रूत गतिमा काम अघि बढ्न नसकेको साझेदारी वनका संयोजक जय प्रकाश पाण्डेयले बताए ।

डिभिजनल वन अधिकृत ईश्वरी प्रसाद पौडेलले तिलौराकोट साझेदारी वनले देशमै उत्कृष्ठ कार्य गरि जिल्लाको नाम उच्च राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV