२५ असार २०७८, शुक्रबार

काठमाडौं । सत्तारुढ नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले मुलुकलाई निकास दिन ताजा जनादेश आवश्यक रहेको भन्दै प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गमा उनीहरुले लोकतन्त्रको रक्षाका लागि निर्वाचनको वातावरण बनाउन माग गर्दै प्रदर्शन गरेको हो ।

संवैधानिक सर्वोच्चता, दलीय ब्यबस्थाको सुनिश्चितता गर्नुपर्ने भन्दै प्रदर्शनमा सहभागीहरुले नाराबाजी गरेका थिए । त्यस्तै उनीहरुले राजनीतिक अस्थिरता, निर्दलीय सोच र प्रवृत्तिविरुद्ध एकजुट बन्नुपर्ने र ताजा जनादेशको पक्षमा जनमत सिर्जना गर्नुपर्ने बताएका छन् ।

निर्दलीयताको वकालत गरिरहेका दलहरुलाई प्रतिगमनको मतियार नवन्नका लागि खबरदारी गर्दै प्रदर्शन गरिएको अनेरास्ववियुका अध्यक्ष ऐन महरले जानकारी दिए । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरु सडकमा आएको बताए ।

उनले लोकतन्त्र र संविधानमाथि हमला भइरहेको सवै जनतालाई सचेत गराउनुपर्ने धारणा राखे । निर्दलीय गठबन्धनले मुलुकलाई बन्धक बनाउने काम गरेको संगठनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV