२५ असार २०७८, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको मान्यता आफूले पाउनुपर्ने मागसहित भबिसोर पराजुलीले निर्वाचन आयोगमा निवेदन दिएका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’, मातृका यादव र आफ्नो पार्टी एकीकृत भई नेकपा माओवादी केन्द्र बनेको तर, प्रचण्ड र यादव एमालेमा प्रवेश गरिसकेकोले उक्त पार्टीले आफूले पाउनुपर्ने दाबीसहित उनी शुक्रबार आयोगमा पुगेका हुन् ।

​पराजुलीले आयोगमा दिएको निवेदनमा उनले भनेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आधिकारिक नेतृत्वको मातृका यादव, प्रचण्ड र बादलहरू पार्टी परित्याग गरेको हुनाले विधिवत् रूपमा एकताका मुख्य घटक र सोही पार्टीलाई निरन्तरता दिँदै आएकोले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) स्वतः हाम्रोबाहेक अरु कसैको हुन नसक्ने हुँदा निर्वाचन आयोगले भबिसोर नेतृत्वको नेकपा माओवादी केन्द्रलाई प्रचलित ऐन, कानुनबमोजिम निर्वाचन आयोगको क्षेत्राधिकारभित्र रहेको अवस्थामा आधिकारीक नेकपा माओवादी केन्द्रको रुपमा रहको कुरालाई प्रत्रिया र विधिअनुसार नै आधिकारीक राजनीतिक दलको रुपमा रहेको प्रमाणका आधारमा दलको मान्यता घोषणा गरि पाऊँ ।’

एकताको प्रमुख घटकको सहमतिबिना नै पार्टी नीति, विधान, विधि विपरीत तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी परित्याग गरेको पराजुलीले विज्ञप्तिमा भनेका छन् । उनका अनुसार हामीले हाल नेतृत्व गरी विकास गरिरहेको पार्टी नै वैधानिक रूपमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) हो र यसमा कुनै विवाद र शङ्का नै छैन ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV