२५ असार २०७८, शुक्रबार

धनगढी । अन्तरजातीय विवाह गरेर जंगलमा लुक्न गएका एक जोडी बाध्य भएर युवकको घर फर्किए । तर, घर फर्कनेवित्तिकै शुक्रबार युवतीको आफन्तले युवतीलाई लिएर गएका छन् ।

कैलालीको भजनी नगरपालिका–४ का प्रकाश विश्वकर्मा र जानकी गाउँपालिकाकी मालती रावल घरबाट भागेर विवाह बन्धनमा बाँधिएका थिए । परिवारले स्विकार्न नसक्ने स्थिति देखिए पनि उनीहरु दुवै भागेर जंगलमा जिवन बिताइरहेका थिए, जुन दृश्य उनीहरुले भिडियो बनाएर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

जंगलमै लुकेर बस्दा उनीहरुले भिडियोबाटै आफूहरुलाई परिवारले स्वीकार नगरेको र सहयोगका लागि सबैसँग अपेक्षा राखेका थिए । तर, उनीहरु शुक्रबार प्रकाशको घर फर्किए ।

घर फर्केको सूचना पाएसँगै युवतीको तर्फबाट करिब २५ जनाको समूह आएर मालतीलाई छुट्टाएर लगे । मालतीलाई जीपमा जबर्जस्ती चढाएर लगेको प्रकाशका एक आफन्तले बताए ।

उनका अनुसार ‘भागेर प्रेम विवाह गरेर युवतीलाई घरमा ल्याएको थियो, प्रकाशले । तर, घरमा बस्न नसकेपछि उनीहरु जंगलमै बसेका थिए । तर, शुक्रबार घर आएका थिए उनीहरु । तर, घर आउनेवित्तिकै मालतीलाई छुटाएर लगियो । हामीले बोल्न केही सकेनौँ ।’

दुवै जना एक वर्षदेखि प्रेम सम्बन्धमा रहेको पनि उनले बताए ।

असार १७ गते युवतीका आफन्तले घरबाट हराएको भनि प्रहरीमा दिएको निवेदनका अधारमा दुवैलाई खोजी कार्य गरिएको थियो । भागेर अन्तरजातीय विवाह गरेका उनीहरु दुवैको उमेर २० वर्ष भन्दा कम रहेको छ ।

मालतीलाई परिवार पक्षले घर लिएर गए पनि प्रहरीले भने थप अनुसन्धानका लागि दुवै पक्षलाई बोलाएको छ । दुवै पक्ष कार्यालयमा उपस्थित भए पछि थप कुरा बाहिर आउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV