२४ असार २०७८, बिहीबार
  • भगतराज थारु,

नेपालगन्ज । जिल्लाको बैजनाथ गाउँपालिका–१ च्यामाको एक मात्र बाटो हिलम्मे हुँदा स्थानीयवासीले सास्ती खेप्नु परेको थियो । २००६ सालमा बस्ती बसेको च्यामा गाउँमा अझै पनि सडक राम्रो ग्राभेलसम्म हुन नसक्दा स्थानीयवासीहरुले बारम्बार सास्ती खेप्नु परेको हो ।

बार्खायामामा हिलम्मे र हिउँदमा धुलाम्मे हुने गरेको बाटोलाई स्थानीय सरकारले पहल नगर्दा सँधै दुख झेल्नु परेको स्थानीयवासीको गुनासो छ । पुरानो बस्तीमा अझै पनि विकास हुन नसक्दा च्यामा गाउँलाई स्थानीय सरकारले अपहेलना गरेको स्थानियवासीको आरोप छ ।

‘च्यामा जोड्ने सडकमा आवतजावत गर्न एकदम कठिन हुन्छ’, स्थानीप्य गणेश दहितले भने, ‘सानो झरीले पनि हिँड्न मुस्किल पर्छ, पानीको निकाश छैन । सडकभरी पानी जम्छ, आवतजावत नै बन्द हुन्छ ।’

स्थानीय सरकारले स्थानियबासीको समस्या नसुनेपछि च्यामाबासी जुरमुराए र हरेक घरधुरीबाट सक्दो नगद रकम संकलन गरेर ह्युमपाइप जडान गरेका छन् । ‘श्रमदान गरेर पनि बाटो निर्माणमा जुटेका छौं’, अर्का एक जना स्थानीयबासीले भने ।

‘आफ्नो गाउँ ठाउँको बाटो विस्तार र मर्मतका लागि स्थानीयवासीको एकरुपता कायम छ’, उनले भने, ‘हामीले घरधुरीबाट नगद संकलन गरेर भएपनि बाटोमा हिँड्न लायक बनाएका छा । सानो बर्षातले पनि गाउँमा जान आउन एकदम गाह्रो हुन्छ । मोटरसाइकल, साइकल, अटो रिक्सा एम्बुलेन्स जानसक्ने अवस्था हुन्न ।’

त्यस्तै, बैजनाथ गाउँपालिका १ का वडा अध्यक्ष रुप बहादुर मल्लले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बनाएको सडक भएको हुनाले स्थानीयले सास्ती खेप्नु परेको जानकारी गराऐ । ‘केही दिनमै ग्राभेल हाल्ने कार्य हुन्छ’, वडा अध्यक्ष मल्लले भने ।

‘वडाबाट एक लाख बजेट छुट्याएको थियो, एक लाख थप पालिकाबाट माग गरेका छौं’, अध्यक्ष मल्लले भने । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बनेको च्यामा जोड्ने सडक नयाँ भएको हुनाले समस्या भएको उनले बताए ।

नयाँ आर्थिक बजेटमा च्यामा गाउँको लागि १२ लाख बजेट छुट्याइएको र सोही रकमले स्तरीय ग्राभेल हालेर स्थानीयलाई हिडडुल गर्न सहज बनाउने उनले बताए । च्यामा गाउँमा ८७ घरधुरी छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV