२४ असार २०७८, बिहीबार
  • राजेन्द्र अधिकारी,

पोखरा । फेवातालको मुहानमा निर्माण गरिएका सिल्टेशन ड्याम दुई वर्ष पनि नपुग्दै भत्किएपछि नजिकैका बस्तीहरु जोखिममा परेका छन् । पोखरा महानगरपालिका वडा नं. २३ डुडेको फाँटस्थित हर्पन खोलामा निर्माण गरिएको सिल्टेशन ड्याम अविरल परेको पानीका कारण हिजो राति भत्किएको छ ।

कमजोर ढंगले निर्माण गरिएकैं कारण सिल्टेशन ड्याम भत्किँदा डुँडे फाँट नजिकको वस्तीका ३५ घरधुरी, ड्याम भन्दा थोरै तल ठूलाखेतका ९ घर र नौविसे ककहरे भन्ने ठाउँमा १० घर अत्यन्त जोखिममा रहेको पोखरा वडा नं. २३ का कार्यवाहक वडाध्यक्ष भरतराज भण्डारीले जानकारी दिए ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा फेवाताल संरक्षणको लागि भन्दै हर्पनखोला, अँधेरीखोला, लौरुक खोला र बेतनी खोला गरेर ४ ठाउँमा २८ करोड ९६ लाख रुपैयाँमा ४ वटा सिल्टेशन ड्यामहरु निर्माण गरिएको थियो । ड्यामहरु निर्माण हुँदा कमसल भएको भन्दै स्थानीय र जनप्रतिनिधिले यसको विरोध गरेको स्थानीय भक्तबहादुर केसीको भनाइ थियो ।

फेवातालको मुख्य स्रोत हर्पन खोलामा खड्का कृष्ण/पि.के. जेभी दाङले ७ करोड ८८ लाख ६२ हजार ५ सय ४१ रुपैयाँमा सिल्टेशन ड्याम निर्माण गरेको थियो । एकातिर ड्याम नै कमजोर निर्माण गरिएको र वस्ती भन्दा पनि उचाईमा ड्याम बनाईदाँ नजिकै रहेका वस्तीहरु जोखिमको स्थानीय भूमिप्रसाद पराजुलीले बताए ।

फेवातालका मुहानबाट बगेर आउने गेग्रयान, कमेरो र माटोले ताल पुरिन थालेपछि जोगाउनका लागि भन्दै प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा सिल्टेशन ड्याम निर्माण गरिएको हो ।

तर, निर्माण भएकै वर्ष सबै सिल्टेशन ड्यामहरु भत्किन थालिसकेका थिए । जसमध्ये अँधेरी खोलामा बनाइएको ड्यामले १५६ रोपनी जमिनमा लगाइएको धानबाली नै पूर्णरुपमा नष्ट गरेको चाक्ला बन्दी एवं धान पकेट क्षेत्रका कोषाध्यक्ष अमृत भण्डारीले बताए ।

फेवाताल संरक्षण गर्ने भन्दै निर्माण गरिएका सिल्टेशन ड्यामहरु बेतयानी र लौरुकखोलामा ५० मिटर लम्बाई, ५० मिटर चौडाइ र ४ मिटर उचाइको, अँधेरीखोला र हर्पनखोलामा १ सय मिटर लम्बाई, १ सय मिटर चौंडाई र ४ मिटर उचाईको रहेका छन् ।

पोखरा २४ स्थित वेतयानी खोलामा निर्माण गरिएको ‘सिल्टेसन ड्याम’ श्री गीता/जयनेपाल इश्वर जेभी, स्याङ्जाले निर्माण गरेको हो । यसको लागत ५ करोड ४६ लाख ५८ हजार ९ सय ७५ रुपैयाँ रहेको छ ।

त्यसैगरी, पोखरा २४ लौरुकखोलामा निर्मित ‘सिल्टेसन ड्याम’ खड्का कृष्ण/पि.के जेभी दाङले निर्माण गरेको हो । यसको लागत ५ करोड ७४ लाख ८४ हजार ९ सय ९८ रुपैयाँ थियो । पोखरा २३ र २४ मा पर्ने अँधेरीखोलामा निर्मित ‘सिल्टेसन ड्याम’पनि खड्का कृष्ण/पि.के जेभी दाङले नै निर्माण गरेको थियो ।

यसको लागत ९ करोड ६ लाख ४ हजार ५ सय ५८ रुपैयाँ थियो । फेवातालको सबैभन्दा माथिल्लो सिरान क्षेत्र पोखरा २३ हर्पनखोलामा निर्मित ‘सिल्टेसन ड्याम’ पनि खड्का कृष्ण/पि.के जेभी दाङले नै निर्माण गरेको हो । यसको लागत ७ करोड ८८ लाख ६२ हजार ५ सय ४१ रुपैयाँ रहेको थियो ।

रामसार क्षेत्रमा सूचीकृत पोखराको फेवाताल प्राकृतिक र मानवीय अतिक्रमणका कारण साँघुरिदैं गईरहेको छ । फेवातालको मुहानबाट तालमा प्रत्येक वर्ष एक लाख ४२ हजार मेट्रिक टन गेग्रान थुप्रिँदै आएको विभिन्न अध्ययनले देखाएको छ ।

नापी विभागको अभिलेख अनुसार सन् १९५७ को नापी अनुसार लगभग २२ हजार रोपनीमा फैलिएको फेवातालको पछिल्लो नापीमा फेवातालको क्षेत्रफल ५.७२६ वर्ग किलोमिटर (११२५५ रोपनी ११ आना १ पैसा) कायम गरिएको छ ।

फेवातालका यिनै स्रोत नदीहरुमा निर्माण गरिएका सिल्टेशन ड्याममा जम्मा भएका नदीजन्य सामाग्रीहरु बिक्री बितरण गर्नका लागि पोखरा महानगरपालिकाले २४ वर्षका लागि फेवा सिल्टेसन प्रा.लि.लाई ठेक्कामा दिएपछि स्थानीयले यसकोे विरोध गरेका थिए ।

स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुसँग छलफल नै नगरी महानगरपालिकाले गरेको सम्झौंता खारेज गर्नुपर्ने स्थानीयको माग छ । यो विषयमा पोखरा महानगरपालिकाले वार्ता टोली नै गठन गरेको भएपनि अझैसम्म यो विवाद टुङ्गिन सकेको छैन । यो अवस्थामा ठेक्कामा दिइएका सिल्टेशन ड्यामहरु धमाधम भत्किन थालेका छन् ।

  

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV