२४ असार २०७८, बिहीबार
  • हरिशंकर शर्मा,

वीरगंज (पर्सा) । पर्साको १४ वटा स्थानीय तहमध्ये ७ वटा स्थानीय तहले हालसम्म बजेट एवं नीति तथा कार्यक्रम सार्वजनिक गर्न सकेका छैनन् । स्थानीय तह सञ्चालन ऐन अनुसार असार १० गतेभित्र सम्पूर्ण स्थानीय तहले बजेट एवं नीति तथा कार्यक्रम सार्वजनिक गरिसक्नु पर्नेमा ऐनले तोकेको समयावधि सकिएको दुई साता वित्न लाग्दा पनि पर्साका हालसम्म ७ वटा स्थानीय तहले आगामी २०७८/७९ को बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्न सकेका छैनन् ।

पर्साको १४ वटा स्थानीय तहमध्ये बिन्दवासीनी, कालिकामाई, धोबिनी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली र ठोरी गाउँपालिकाले बजेट सार्वजनिक गर्न नसकेका हुन् । बजेट सार्वजनिकीरणमा ढिलाईबारे स्थानीय तहहरुले कोरोनालगायत विभिन्न बहाना बताएपनि योजनामा आपसी भागबण्डा नमिलेकै कारण बजेट सार्वजनिकमा ढिलाई भएको बुझिएको छ ।

स्थानीय तहका योजनाहरुमा प्रमुख, उपप्रमुख एवम् प्रमुख प्रशासकीय अधिकृतहरुबीचको भागबण्डा नमिलेकै कारण बजेट, नीति तथा कार्यक्रम सार्वजनिकमा ढिलाई भएको हो । हालसम्म बजेट सार्वजनिक गर्न नसकेका ७ वटा स्थानीय तहमध्ये कालिकामाई गाउँपालिकाले भने असार १५ गते नै बजेट सार्वजनिक गरिसकेको दाबी गरेको छ ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष राजेश चौरसियाले असार १५ गते नै बजेट सार्वजनिक भइसकेको तर गाउँसभाको मिति तोकिएकै दिन वडा नम्बर ३ का अध्यक्ष सञ्ज्य पटेललाई मातृशोक पर्नुका साथै सोही दिन नेपाली कांग्रेसका स्थानीय नेताको निधन भएपछि सार्वजनिक हुन नसकेको बताए ।

त्यसैगरि विन्दवासिनी गाउँपालिकाले भुक्तानीहरु गर्नुपर्ने कामहरुमा व्यस्त भएको कारण बजेट सार्वजनिक हुन नसकेको तर, अब केही दिनभित्रै सार्वजनिक गरिने बताए । यसरी नै ठोरी गाउँपालिकाले यही असार ३० गते बजेट सार्वजनिक गर्ने तयारी गरेको छ भने
जिराभवानी गाउँपालिकाले यही असार २५ गते बजेट सार्वजनिक गर्ने तयारीमा छ ।

यसरी नै पटेर्वासुगौली गाउँपालिकाले भने असार २४ गते सार्वजनीक गर्ने तयारी गरेको छ भने जगरनाथपुर गाउँपालिकाले पनि केही दिन भित्रै बजेट सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।

त्यसैगरी धोबिनी गाउँपालिकामा भने अहिले हिसाब किताब नमिलेको कारण बजेट सार्वजनिक मिति अन्यौलमा छ । प्रमुख प्रशासकीय अधिकृतले जनप्रतिनिधिलाई हिसाब किताब नबुझाएको कारण जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिलेकोले उक्त गाउँपालिकाले असार मसान्तसम्म पनि बजेट सार्वजनिक गर्न नसक्ने छाँटगाँट देखिएको छ ।

उक्त ७ वटा स्थानीय तह बाहेक वीरगञ्ज महानगरपालिका, पर्सागढी, बहुदरमाई र पोखरीया नगरपालिका तथा सखुवा प्रसौनी, छिपहरमाई र पकहामैनपुर गाउँपालिकाले यसअघि नै बजेट सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV