२४ असार २०७८, बिहीबार

पाल्पा । पाल्पाको तिनाउँ गाउँपालिका–५ केराबारी नजिकै गएको पहिरोले पाँच घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । कल्याणी आधारभुत विद्यालय नजिकै रहेको गिट्टिखानी छेउमा पहिरो गएको हो ।

पहिरोमा परी आठ वर्षीय बालक आरब परियार वेपत्ता रहेका मृत फेला परेका हुन् । बिहान साढे ३ बजे गएको पहिरोमा परी अन्दाजी ४५ वर्षीय वीरबहादुर गुरुङ्गको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

पहिरोले हरी दर्लामी, सुजा परियार, नरबहादुर राना, वीरबहादुर गुरुङ्ग र बलबहादुर पुनको घर पुरिएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी घाइते भएकाहरूलाई कल्याणी आधारभूत विद्यालयमा राखेर उपचार भइरहेको छ । पहिरोबाट विस्थापित भएकाहरूलाई पनि सोही विद्यालयमा राखिएको स्थानीयले जनाएका छन् ।

बुधबार रातिदेखि निरन्तर रुपमा परेको पानीले पाल्पा बुटवल सडकको सिद्धार्थ राजमार्ग समेत बन्द भएको छ । पहिरो हटाएर बन्द बाटो सुचारु गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV