२४ असार २०७८, बिहीबार

काठमाडौं । नेकपा एमालेको विवाद समाधान कार्यदल सकारात्मक दिशातर्फ अघि बढेको छ । सिंहदरबारमा विहीबार बसेको बैठकमा विवादित बिषयमा समाधान खोज्न सकारात्मक छलफल भएको र साँझ नै टुङ्गिने विश्वास नेताहरुले गरेका छन् ।

दिउँसो आन्तरिक छलफल गरेर बैठक साँझ ७ बजे पुन बस्ने अध्यक्ष केपी शर्मा ओली पक्षका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिए । विवाद निष्कर्षमा पुर्‍याउनका लागि गृहकार्य गर्ने उद्देश्यले स्थगित गरिएको नेम्वाङले जानकारी दिए ।

उनले सकभर आज निष्कर्षमा पुर्‍याउने तयारी रहेको बताए । एमाले पार्टी एकताबद्ध रहेको तयारीसहित घोषणा गर्न लागेको नेम्वाङको दाबी थियो । विवादलाई सहमतिको निष्कर्षमा पुर्‍याउनका लागि संवाद जारी रहेको र दिनभर नेताहरूबीच विवादबारे छलफल गरेर साँझ ७ बैठक बस्ने उनले जानकारी दिए ।

त्यस्तै एमालेको माधव पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले बैठकमा छलफल सहमतिको विन्दूमा पुगेको दाबी गरे । विष्टले आजको बैठकमा हिजोभन्दा धेरै प्रगति भएको बताउँदै लगभग सहमतिको विन्दूमा पुगेको जानकारी दिए ।

बैठकपछि दुवै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् । कार्यदलको बैठकअघि कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच २ घण्टा छलफल भएको थियो ।

एमाले विवाद चलिरहेका बेला लामो समयपछि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार भेटवार्ता भएको थियो । कार्यदलमा भीम रावल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली र भीम आचार्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV