२३ असार २०७८, बुधबार

कर्णाली । सुर्खेतमा पछिल्लो समय हुँदै आएको पटके विद्युत् भार कटौती अन्त्य गर्न व्यवयायीले दुईदिने अल्टिमेटम दिएका छन् ।

सुर्खेत उद्योग वाणिज्य सङ्घले आज नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै अनियमित तवरले भइरहेको विद्युत् भार कटौती अन्त्यको माग गरिएको हो ।

सङ्घका अध्यक्ष धनबहादुर रावतले बिना सूचना पटकपटक विद्युत् आउने जाने समस्याले सर्वसाधारणमात्र नभई व्यवसायीसमेत मर्कामा परेको बताउनुभयो । “हामीले दुई दिनभित्र समस्या सुधार गर्न चेतावनी दिएका छौँ, अन्यथा समस्या बारम्बार दोहोरिरहे आन्दोलनमा उत्रन बाध्य हुनेछौँ”, उहाँले भन्नुभयो, “प्राधिकरणले सकारात्मक जवाफ दिएको छ, समस्या समाधानमा पहलकदमी लिने आश्वासन पाएका छौँ ।”

प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय प्रमुख सुरेन्द्र अग्रहरिले ३३ केभी कोहलपुर सुर्खेत प्रसारण लाइनको क्षमता विस्तार नहुँदा विद्युत् आपूर्तिमा कठिनाइ भइरहेको बताउनुभयो । उहाँका अनुसार १३२ केभी प्रसारण लाइन निर्माणको तयारीमा रहेको छ ।

प्रादेशिक कार्यालय प्रमुख अग्रहरिले ग्राहकको बढ्दो सङ्ख्या, कम क्षमताको प्रसारण लाइनका कारण आपूर्तिमा समस्या देखिने गरेको बताउनुभयो ।

यसैबीच, प्राधिकरणको सुर्खेत कार्यालयले विद्युत् महशुल सङ्कलनका लागि बिहान ८ बजेदेखि काउन्टर खुला रहने जनाएको छ ।

निषेधाज्ञा खुकुलो हुँदै गएपछि कार्यालयमा महशुल बुझाउने ग्राहकको थामिनसक्नु भीड लाग्ने गरेको छ । कार्यालय प्रमुख टङ्कराज गिरीले भीड व्यवस्थापनका लागि बिहान ८ बजेदेखि महशुल काउन्टर खुला राख्ने निर्णय गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV