२३ असार २०७८, बुधबार

काठमाडौं । नेकपा (एमाले)भित्र देखिएको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकारात्मक रुपले अघि बढेको छ । सिंहदरबारमा बुधबार बसेको कार्यदल बैठकमा विवाद समाधानका लागि विभिन्न विकल्पमाथि छलफल भएको र विहीबार टुङ्गोमा पुग्नेगरी तयारी गर्ने नेताहरुले जनाएका छन् ।

बैठक सकारात्मक दिशातर्फ अघि बढेको र पार्टी विवाद समाधान हुने विश्वास नेताहरुले गरेका छन् । बैठकपछि एमाले नेता सुवास नेम्वाङले विवाद समाधानका लागि विहीबार विहानसम्म दुई पक्षबीच नै छलफल हुने र विहीबार बस्ने बैठकमा सहमतिको ठोस कार्ययोजना बनाउन प्रयास गर्ने जानकारी दिए ।

सहमतिको वातावरण बनेको र छलफल परिणाम नजिक पुगेको भएपनि विहीबार मात्रै टुङ्गो लाग्ने उनले बताए । त्यस्तै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विवाद समाधानको प्रयासस्वरुप अघि बढिरहेको जानकारी गराए । उनले विहीबार नै टुङ्गोमा पुग्ने दाबी गरे ।

त्यस्तै एमाले नेता गोकर्ण बिष्टले विवादित विषयको सहमति नजिक पुगेको बताए । अदालतको फैसला मुताविक २०७५ जेठ २ गतेको अवस्थामा फर्किसकेपछि पार्टी र जनसंगठन त्यही अवस्थामा पु¥याउने सहमति भएको उनको भनाइ छ ।

एमालेभित्रको विवाद मिलाउन पछिल्लो केही दिनदेखि दुवै पक्षका नेतासम्मीलित कार्यदल निरन्तर छलफलमा छन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि निष्कृय रहेको कार्यदल असार २१ गते पुनः सक्रिय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV