२३ असार २०७८, बुधबार

काठमाडौं । विद्यार्थीहरुका लागि नोबेल पुरस्कारको रुपमा चिनिएको विश्व प्रसिद्ध ‘हल्ट प्राइज प्रतियोगिता’मा नेपालका विद्यार्थी ४२ औँ स्थानमा उक्लिएका छन् । १० लाख अमेरिकी डलरको पुरस्कार राशि रहेको प्रतियोगितामा नेपाली विद्यार्थीले च्याउ उत्पादन गर्ने मेसिन बनाएर ४२ औं स्थानमा उक्लिएन सफल भएका हुन् ।

नेपाली विद्यार्थीहरुले च्याउ उत्पादन गर्ने मेसिन ‘मशूर’ बनाएर पुरस्कार दाबेदारीमा पर्न सफ सफल भएका छन् । पुल्चोक क्याम्पसमा अध्ययनरत शिशिर पन्त, प्रशान्त भट्ट, निर्देश भट्टराई र सोनी पोखरेलले च्याउँ खेती गर्ने नयाँ प्रविधिको विकास गरेका हुन् ।

नेपाली विद्यार्थीहरुले विकास गरेको प्रणालीअन्तर्गत घरमै च्याउँ फलाउने, फलाएर व्यापार तथाआयआर्जन गर्न सकिने र परम्परागतच्याउ खेती गरिहेकाहरुलाई सहजता हुने बताइएको छ । विद्यार्थीहरुकाअनुसार पारिवारिक आवश्यकतालाई मध्यनजर गरी प्रतिमहिना ८ केजी र व्यापारिक तथा पेशागत कृषिलाई ध्यानमा राख्दै प्रतिमहिना ३६ केजीसम्म च्याउँ उत्पादन गर्न सकिने मेशिनको विकास गरिएकोछ ।

स्मार्ट प्रविधिमार्फत् त्यसभित्रको हावापानी नियन्त्रण गर्न सकिने र मेशिनको उपयोग गरी बाह्रै महिना उत्पादन गर्न सकिने उनीहरुको दाबी छ । यस घरेलु खेती प्रणालीलाई हाल काठमाडौं उपत्यकामा सञ्चालन गर्ने उनीहरुको तयारी छ भने निटक भविष्यमै उपत्यकाबाहिर लैजाने पनि उनीहरुको सोच छ ।

मशूर नाम दिइएको यो प्रविधिले काठमाडौँमा आयोजित ‘काठमाण्डू इम्प्याक्ट समिट’ प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको थियो । यस वर्षको ‘हल्ट प्राइज टप ४२’ भित्र प्रवेश गरेको मशूरले फाइनल प्रतिस्पर्धा आगामी अगष्ट ८ मालन्डनमा गर्दैछ ।

सो प्रतियोगितामा सहभागी हुनका लागि विद्यार्थीहरुले अन्तिम तयारी गर्दैछन् । तर, ट्राभल र क्वारिन्टीनको खर्च आफैले बेहोर्नु पर्ने भएकाले विद्यार्थीहरुले आमनागरिकसमक्ष सहयोगको समेत अपील गरेका छन् । इच्छुकले सहयोग गर्न सकिनेछ ।

हल्ट प्राइजमा यस वर्षको थिम ‘हल्ट प्राइज २०२१ फुड फर गुड’ राखिएको छ । प्रतियोगितामा हरेक देशका विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका नयाँ प्रविधिबीच प्रतिस्पर्धा गराइनेछ । यस वर्ष विश्वभरका १ सय २१ देशबाट ३ सय भन्दा बढी विश्वविद्यालयका ३ लाख बढी विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका छन् ।

विद्यार्थीहरुका लागि विश्वमै सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा लिएको यस प्रतियोगितामा प्रथम हुने विद्यार्थीले दश लाख अमेरिकी डलर बराबरको पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV