२२ असार २०७८, मंगलवार
  • राजेन्द्र अधिकारी,

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली पोखरेलले २४ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । ११ वटा मन्त्रालय रहेको यस प्रदेशमा सत्ता साझेदार दलहरुबीच सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो ।

प्रदेशले मन्त्री नियुक्त र जिम्मेवारी बाँडफाँड गर्न नसकेपछि यसको जिम्मा केन्द्रीय नेताहरुलाई नैं दिइएको छ । प्रदेशमा देखिएको विवादले सत्ता साझेदारीको यो विवादले गठबन्धन नटुट्ने दाबी मुख्यमन्त्री पोखरेलले गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज भएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पोखरेलले भने, ‘यो गठबन्धन राष्ट्रिय परिस्थितिको उपज हो । केन्द्रमा जस्तै प्रदेशमा गठबन्धन बनेको हो । अहिलेको विवादले गठबन्धन टुट्दैन ।’

बजेट पारित भएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने मुख्यमन्त्री पोखरेलले बताए । असार ४ गते नै विश्वासको मत लिइसकेका मुख्यमन्त्री पोखरेलले यही साता भित्रमा सदन बोलाएर बजेटमाथि छलफल गर्ने बताए ।

अहिले गण्डकी प्रदेशमा मुख्यमन्त्री र चार जना मन्त्री मात्र छन् । कांग्रेस नेता कुमार खड्कालाई सामाजिक विकास मन्त्रालय र माओवादी केन्द्रका मधुमाया अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

तर, सँगै सपथ खाएका जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले मन्त्रीको सपथ लिएपनि उनीहरुको आजसम्म मन्त्रालयको टुङ्गो लाग्न सकेको छैन ।

निवर्तमान मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढाल्न जसपाका आचार्यलाई विश्वासको मत लिनुअघि अर्थमन्त्रालय दिने लिखित सहमति गरेका मुख्यमन्त्री पोखरेलले कांग्रेस र माओवादी कैं कारण सहमति कार्यान्वयन गर्न सकेका छैनन् । त्यसैगरी स्वतन्त्र सांसद दीपक मनाङेले पनि आफूले भनेको मन्त्रालय नपाएको भन्दै जिम्मेवारी नै सम्हालेका छैनन् ।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले सत्ता साझेदार दलहरुबीच भएको विवादका विषयमा केही बोल्न चाहेनन् । अफ्ठ्यारो परिस्थितिमा आफ्नो नेतृत्वको सरकार रहेको भन्दै आगामी यात्रा झनै चुनौतीपूर्ण रहेको मुख्यमन्त्री पोखरलेले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV