२२ असार २०७८, मंगलवार
  • भगतराम थारु,

नेपालगन्ज । कोरोना संक्रमणको हटस्पट बनेको बाँकेमा संक्रमितहरुको संख्या घटेसँगै अस्पतालका बेडहरु खाली हुन थालेका छन् । केही दिनअघि बाँकेका अस्पताल र आइसोेसन भरिभराउ थिए ।

बेड अभावले बरण्डा र कोलियामा समेत उपचार गर्न बाध्य थिए । बाँकेका ५ वटा अस्पताल र पालिकाको आइसोलेशन सेन्टरहरुमा बेड पाउन गाह्रो थियो । अहिले संक्रमित घटेपछि बेडहरु खाली हुन थालेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले भने ।

त्यतिबेला ५ अस्पताल र आइसोलेशनका ८४६ बेड पूरा भरिएको थियो भने अहिले अस्पताल र आइसोलेशन सेन्टरमा ४६ जना मात्र संक्रमितहरु उपचाररत छन् । कोरोना संक्रमितको चाप क्रमशः घट्दै गएपछि बाँकेमा अस्पताल तथा आइसोलेसन सेन्टरका बेड रित्तिदै गएको हो ।

उपचारका लागि भर्ना हुन आउने संक्रमितको चाप कम भएपछि दिनहुँ बेड खाली हुन थालेका छन् । दोस्रो लहरको कोरोना भाइरसको महामारी फैलिएपछि यहाँका अस्पताल र स्थानीय तह (गाउँपालिका र नगरपालिका)ले कोभिड आइसोलेसन वार्ड सञ्चालन गरेका थिए ।

सुरुको करिब एक महिनासम्म संक्रमितको चाप ह्वात्तै बढेपछि कोभिड बेड संख्या थपिएको थियो । भेरी अस्पतालसँग सबैभन्दा बढी २ सय क्षमताको कोभिड बेड अहिले पनि सञ्चालनमा छन् ।

यस्तै नेपालगन्ज मेडिकल कलेजसँग १ सय ३०, वेष्टर्न अस्पतालमा १६, युनाइटेड अस्पतालसँग १५ र गाउँपालिका तथा नगरपालिकाले तयार गरेका आइसोलेसन सेन्टरमा ४ सय ८५ कोभिड बेड उपलब्ध रहेका थिए ।

तर, पछिल्लो समयमा कोरोना संक्रमितको चाप ह्वात्तै घटेपछि कोभिड अस्पताल र आइसोलेसन सेन्टरका बेड खाली हुदै गएको ‘जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र’ बाँकेका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

‘अस्पताल र आइसोलेसन सेन्टरमा कोरोना संक्रमितको चाप धेरै नै घटिसकेको छ । कोभिड बेड खाली भइरहेका छन्’, प्रमुख जिल्ला अधिकारी गेलालले भने । अहिले भेरी अस्पतालमा ८ जना मात्र संक्रमित उपचाररत छन् ।

पछिल्लो समयमा २७ जना संक्रमित होमआइसोलेनमा बसिरहेका छन् । कोरोना संक्रमित हुने दर क्रमिक रुपले घटेको कुरा यहाँ दैनिक रुपमा सार्बजनिक हुने तथ्यांकले पनि देखाएको छ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले सार्बजनिक गरेको तथ्यांकमा पनि संक्रमण दर ओरालो लागेको पुष्टि हुन्छ । कोरोना महामारीकोपछि बाँकेका ३ सय ११ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ३ सय ६४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV