२२ असार २०७८, मंगलवार

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले रत्नपार्कको पुलको भित्तामा आफ्नो कार्टुन कारेर प्रचार गरिएकोमा धन्यवाद दिएका छन् ।

मंगलबार नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपश्चात् सञ्चारकर्मीसँगको कुराकानीमा उनले कार्टुन बनाएर प्रचार गरिएकोमा व्यक्तिगत रुपमा आफूले धन्यवाद दिन चाहेको उनले भने ।

उनले भने, ‘कार्टुन बनाएर मेरो प्रचार गरियो । उहाँहरुलाई व्यक्तिगतरुपमा धन्यवाद तर, सर्वोचको आदेश र महानगरपालिकाको कानुन–नीति उल्लङ्घन गरी जथाभावी भित्तेचित्र कोर्न पाइन्न ।’

केही दिनअघि नेपाली काँग्रेस निकट विद्यार्थी संघ नेविसंघले रत्नपार्कको आकाशे पुलको भित्तामा ‘काठमाडौं महानगरपालिका मुर्दावाद’ र ‘विद्यासुन्दर शाक्य मुर्दावाद’ भन्ने नाराका साथ कार्टुन कोरेका थिए । उक्त विषयमा आज शाक्यले मुख खोल्न बाध्य भए ।

तर, जो कोही नीतिभन्दा बाहिर जान नहुने बताउँदै सर्वोच्च अदालतको फैसला र महानगरपालिकालको कानुन–नीतिलाई उल्लङ्घन गर्न नमिल्ने उनको भनाइ रहेको छ । उनका अनुसार जे नीति छ, त्यही नीति कार्यान्वयन गर्नुपर्छ ।

यसैगरी ‘कोभिड फ्रन्टलाइनर’ हरुको सम्मानमा बनाइएका भित्तेचित्र मेयरले मेटायो भनेर बढी नै प्रचार गरेको पनि बताएका छन् । साथै, आफूले सकारात्मक सुझाव ग्रहण गर्न तयार रहेको तर, मेयरलाई देखाइन्छिौँ भनेर नीति–नियमको उल्लङ्घन गर्न नमिल्ने उनले बताए ।

उनले भने, ‘म सकारात्मक सुझाव ग्रहण गर्न तयार छु । तर, सर्वोच्च अदालतले २०७२ सालमै सहरका घर, पर्खाल, बिजुलीको पोल लगायतमा रहेका पर्चा, पम्पलेट, भित्तेलेखन, होडिङबोर्ड, विज्ञापन बोर्ड हटाउन र थप राख्न नदिन आदेश दिएको स्मरण गराउन चाहन्छु । त्यसैले मेयरलाई देखाइन्छिौँ भनेर नीति–नियमको उल्लङ्घन गरी योजनावद्द ढंगले अघि बढ्ने हो भने कोही पनि लक्ष्यमा पुग्न सक्दैनौँ ।’

०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगर क्षेत्रका होडिङ बोर्डहरु, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामग्री हटाउन आदेश दिएको थियो ।उत्तः आदेशससँगै महानगरपालिकाको निर्देशिका र विज्ञापन नीतिले पनि विज्ञापन तथा प्रचार सामग्री र भित्तेलेखनमा रोक लगाएको उनको भनाइ छ । तर, अझैँ पनि पूर्ण रुपमा त्यसको कार्यान्वयन भने हुन सकेको छैन ।

साथै, निर्वाचनमा उम्मेदवार हुँदा कसैले भित्तामा कार्टुन लेखेर प्रचार नगरेको पनि उनले बताएका छन् । उनका अनुसार त्यसबेलाको निर्वाचनमा कसैले पनि भित्तामा प्रचार गरेनौँ ।

उनले भने, ‘उम्मेदवार हुँदा हामी कसैले भित्तोमा प्रचार गरेनौँ’
चुनावका बेला सबै राजनीतिक दलले आफू अनुकुल नारा लेखेर प्रचार गर्न सक्थे नि भन्दै किन गरेनन्, भनी मेयर शाक्यले भने, ‘उनीहरुले नीति बाहिर जानु हुँदैन भनेर गरेनन् । म आफैँ पनि मेयरको उम्मेदवार थिएँ निरु हामी कसैले पनि सर्वोच्च अदालतको फैसला, काठमाडौँ महानगरपालिकाकाको कानुन र नीति विपरीत जानु हुँदैन भनेर महानगरपालिकाका भित्तामा चुनावको प्रचार नगरेका हौँ ।’

अन्तमा मेयर शाक्यले आफू महानगरपालिकामा मेयरमा निर्वाचित भएर आएपछि महानगरलाई ‘साँस्कृतिक शहर काठमाडौँ महानगर’का रुपमा चिनाउन अघि बढिरहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV