२२ असार २०७८, मंगलवार

धनुषा । नेकपा माओवादीका  केन्द्रीय सदस्य महादेव यादव ‘संग्राम’लाइ पार्टीकाे झण्डा ओढाएर सम्मान गरिएकाे छ ।

जनकपुरधामस्थित स्वर्गद्वारीमा उनको पार्थिव शरीरको अन्त्येष्टिपूर्व माओवादी केन्द्र धनुषाको कार्यालयमा केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएका थिए ।

सो क्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृकाप्रसाद यादव, नेकपा एमालेका केन्द्रीय सदस्य तथा संसदीय दलका नेता सत्रुधन महतो, नेकपाका नेता गौरी मण्डलसहितका शीर्ष नेताहरु सहभागी भएका थिए ।

दुईर्षदेखि क्यान्सरद्वारा पीडित नेता संग्रामकाे ५७ वर्षको उमेरमा गएराति निधन भएको हो । गएराति अन्दाजी १० बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित मुजेलियामा रहेको आफ्नै घरमा नेता यादवको मृत्यु भएका परिवारजनका सदस्य श्याम यादवले जानकारी दिए ।

बाबासिर क्यान्सरबाट पीडित नेता यादवको नेपालको भरतपुर क्यान्सर अस्पताल, भारतको दिल्ली, पटना स्थित विभिन्न अस्पतालमा उपचार गरिदैँ आएको थियो । समस्या समाधान नभएपछि पछिल्लो समय चितवन क्यान्सर अस्पतालका डाक्टरको सल्लाहमा घरमै राखेर औषधि उपचार हुदैँ थियो ।

उनका एक श्रीमती, दुई छोरी र एक छोरा छन् ।

उनी २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए । २०४८ सालमा जेटिएको सरकारी जागिर छोडेर नेता यादव तत्कालिन जनमोर्चाको तर्फबाट बालाबाखर गाविस (हाल सहिदनगर नपा–१) को उपाध्यक्षमा निर्वाचित भएका थिए । उनी रामबृक्ष यादवलाई आदर्श मान्दै मुक्तिकामी आन्दोलनमा सक्रिय सहभागी भएका थिए ।

माओवादीले संचालन गरको १० वर्षे जनयुद्धमा सक्रियतापूर्वक सहभागी नेता यादव सरल, जुझारु र क्रान्तिकारी तथा ईमान्दारीका कारण प्रख्यात थिए ।

उनको निधनले नेपाली कम्युनिष्ट आन्दोलनले एक संघर्षशील नेता गुमाएको केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

उनले भने– हाम्रो पार्टीले समर्पित सहकर्मी गुमाएको छ । कमरेड यादवको निधनले देश, पार्टी र समुदायमा अपूरणीय क्षति भएको छ ।

आन्दोलन प्रतिको समर्पण, वर्गीय मुक्ति, देशभक्ति र निजी स्वार्थको तिलाञ्जली जस्ता दिवंगत कमरेड यादवका आदर्श पक्ष कम्युनिष्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय हुनेछन् ।

कृषि क्षेत्र तर्फको जेटिएको सरकारी जागिर छोडेर नेता यादव कम्युनिष्ट आन्दोलनमा सक्रिय भएका थिए । धनुषा बालाबाखर गाविसको उपाध्यक्षमा समेत निर्वाचित भएका नेता यादव यस क्षेत्रका तत्कालिन नेता रामवृक्ष यादवको प्रभावित थिए ।

पछिल्लो समय नेकपा माओवादी विभाजन हुँदा उनी मोहन वैद्य किरण पक्षमा लागेका थिए । तर पछि रामबहादुर थापा बादलसंग उनी प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा पुनः सक्रिय भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV