२१ असार २०७८, सोमबार

रौतहट । जिल्ला विपद् व्यवस्थापन समिति रौतहटले तीनवटै सुरक्षा निकायलाई विपद् प्रतिकार्यको लागि विपद् खोज तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटमा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लाका सुरक्षा निकायका प्रमुखहरुलाई सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार बीरदल गण, पुरेनवा, जिल्ला प्रहरी कार्यालय रौतहट र सशस्त्र प्रहरी वल नेपाललाई लाईफ ज्याकेट २०–२० थान, लाइफ रिंग १५–१५ थान, फुट पम्प, प्याडेल लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

त्यसैगरी सो समितिले जिल्ला प्रहरी कार्यालय रौतहटलाई बाढी र डुबानको अवस्था निगरानी सहज होस् भनेर एउटा ड्रोन क्यामेरा पनि प्रदान गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताए । उनले रौतहट जिल्ला वर्षेनी बाढी तथा डुबानको चपेटामा पर्ने भएकाले त्यस्तो अवस्था आएमा उद्धार , राहत तथा निगारानीमा सहज होस् भनेर ती सामाग्रीहरु उपलब्ध गराएको जनाउँदै वर्षायाममा जिल्लामा कुनैपनि बेला नदिजन्य विपद् अउनसक्ने भएकाले तीनवटै सुरक्षा निकायलाई हाइ अर्लटमा राखिएको जानकारी दिए।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक सिद्धि बिक्रम शाह, बीरदल गणका प्रमुख सेनानी राजन दाहाल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटका सशस्त्र प्रहरी नायव निरिक्षक गोबिन्द खाती, गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता लगायतको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय नायव सुब्बा रामनरेश साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV