२१ असार २०७८, सोमबार

सिरहा । जिल्लामा दर्ताबिना नै सञ्चालित लीलामदन हेल्थ केयरले बिरामीहरूकाे ज्यानमाथि खेलबाड गरिरहेकाे छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका अनुसार लीलामदन हेल्थ केयर दर्ता नै गरिएकाे छैन । अनुमति बेगरका सेवा सञ्चालन गरेर मानवीय जीवनलाई जोखिममा पार्ने कार्य गरेकाे भन्दै लीलामदन हेल्थ केयरलाई कानूनी कार्यवाहीमा ल्याउनुपर्ने माग उठेकाे छ ।

लीलामदन हेल्थ केयरको नाम पहिला लीलामदन पोलिक्लिनिक एन्ड प्रसूति गृह थियो। गैरकानुनी रूपमा वर्षौदेखि सञ्चालित यस पोलिक्लिनिकमा २०७६ साउन २७ गते जिल्ला स्वास्थ्य कार्यालयले प्रशासनको रोहबरमा ताला लगाएको थियो । नवीकरणको म्याद गुजारेर स्वतः खारेजीमा परेको सो पोलिक्लिनिकलाई बन्द गर्न अन्तिम पटक जेठ २१ गते जिल्ला स्वास्थ्य कार्यालय सिरहाले पत्र पठाएको थियो। तर, स्वास्थ्यको पत्रलाई लत्याउँदै सेवा सञ्चालन गरी नै रहेपछि प्रहरी, प्रशासनको उपस्थितिमा ताला बन्द गरिएको थियो ।

त्यसपछि यस पोलिक्लिनिकले नाम फेरेर लीलामदन हेल्थ केयर राख्यो। जसमा बहिरंग, गर्भवती जाँच, परिवार नियोजन, इसिजी, इ समूहको प्रयोगशालाको सेवा अनुमति लियो। प्रसूति सेवाको अनुमति नपाएको यस हेल्थ केयरले पुनः कानुन मिच्दै प्रसूति सेवा सञ्चालन गरिरह्यो ।

लीलामदनले वर्षौदेखि अनमतिबेगरको काम गरेर कानुनको खिल्ली उडाउँदै, माफ पाउँदै आएको छ। २०७३ सालमा सिरहाको औरही गाउँपालिका–४ इँटाटार कमलपुरकी रामवतीदेवी यादव नवजात शिशु गुमाएर शारीरिक रूपमा थलिएकी छिन्। लीलामदन पोलिक्लिनिक एन्ड प्रसूति गृहको गैरकानुनी उपचारका कारण उनको पहिलो सन्तान खेर गयो, जीवनभर ऋणको भारी बोकायो र पाठेघरसम्बन्धी दीर्घ रोगी बनाइदियो।

पहिलो पटक आमा बन्दै गरेकी रामवती आठ महिनाकी गर्भवती हुँदा अचानक पेट दुख्ने तथा रक्तस्राव हुने समस्या बिसेक पार्न एम्बुलेन्स चढेर लीलामदन पोलिक्लिनिक एन्ड प्रसूतिगृह आएकी थिइन्।

तर ठिक हुनु त कताकता रामवतीको स्वास्थ्यमा त्यो बेला परेको असर अझैसम्म बिसेक भएको छैन। पाठेघरमा परेको असर र रक्तस्रावको उपचारका लागि उनलाई महिनैपिच्छे भारतीय सहर दरभंगामा धाउनु परिरहेको छ।

‘मलाई जीवनभरका लागि थला पार्ने लीलामदन पोलिक्निकमाथि सरकारले कारबाही गर्न सकेन,’ रामवती भन्छिन्, ‘जसको परिणाम मजस्ता धेरै महिलाहरु पीडा भोग्न बाध्य भइरहेका छन्।’ कानुन मिचेर कारबाहीबाट उम्कन नाम फेर्ने शैली यहाँका निजी स्वास्थ्य संस्थाका लागि नौलो होइन।

प्रतिक्रिया दिनुहोस्

LIVE TV