२१ असार २०७८, सोमबार

काठमाडौँ । छिमेकी मुलुक चीनसँगको आयात निर्यातलाई थप सहज बनाउन तथा एकीकृत सेवा दिन मुस्ताङको कोरलामा प्रस्तावित सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । अध्ययनले कोरलामा सुक्खा बन्दरगाह उपयुक्त हुने निष्कर्ष निकालेको छ ।

नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी प्रमुख आशिष गजुरेलले चीनसँगको व्यापारलाई थप सहजीकरणका लागि निर्माण गर्न लागिएको कोरला सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको जानकारी दिनुभयो । कोरला नाकामा चीनतर्फ भन्सार, अध्यागमन र सुक्खा बन्दरगाहलगायत भौतिक संरचना निर्माण सम्पन्न भइसकेको छ ।

समुद्री सतहबाट चार हजार ६६० मिटर उचाइमा बन्ने सो सुक्खा बन्दरगाहमा दुई दर्जनभन्दा बढी भित्री पूर्वाधार निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ । सितारा कन्सल्टेन्ट प्रालिले एक वर्षको अवधिमा सो अध्ययन गरेको हो । अध्ययन प्रतिवेदन समितिलाई प्राप्त भइसकेको छ ।

गजुरेलले भन्नुभयो, “सो ठाउँमा सुक्खा बन्दरगाह निर्माण गर्नु प्राविधिक, आर्थिक, वातावरणीय, सामाजिक दृष्टिकोणले उपयुक्त रहेको सो अध्ययनले देखाएको छ ।” सो बन्दरगाह निर्माण अगाडि बढाउन आर्थिक वर्ष २०७८÷७९ भित्र परामर्शदाता कम्पनी छनोट गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम सम्पन्न गर्ने बताउँदै उहाँले डीपीआर र ईआईए गर्न बजेटको समेत सुनिश्चितता भइसकेको जानकारी दिनुभयो । यो खबर आजको गोरखपात्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV