२० असार २०७८, आईतवार
  • युवराज आचार्य,

झापा । झापाको मेचीनगर नगरपालिकामा जारी आठौं नगरसभा स्थगित भएको छ ।

असार १० गते प्रमुख अतिथि पुर्व सञ्चार मन्त्री राम कार्कीद्वारा उद्घाटन गरेका नगर सभामा नगरपालिकाले आर्थिक वर्ष ०७८–७९ का लागि १ अर्ब ५३ करोड ६३ लाख २९ हजार ३५४ रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरी आइतबार सम्पन्न गर्ने गरी स्थगन गरेको नगरसभा आज सुरु भएको केही समयमै एमाले संसदीय दलले बहिष्कार गरेपछि स्थगित भएको छ ।

शुक्रबार मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देल र स्थानीय अर्जुन थेवेबीच भएको घटनाको विषयलाई लिएर नेकपा संसदीय दलले नगरसभा बहिष्कार गरेको हो ।

शुक्रबार दिउँसो चारआली चोक पूर्व ढलको निकासको लागि जेसीवी लिएर निर्माणस्थल पुगेका वडाध्यक्ष सिग्देलमाथि स्थानीय थेवेलगायतले हातपात गरेको एमाले संसदीय दलले आरोप लगाएको छ ।

मेचीनगरमा जारी नगरसभामा आइतबार यस बिषयले प्रवेश पाएसँगै नगर सभा स्थागित भएको हो । एमाले संसदीय दल मेचीनगरले नगर सभा सुरु हुनुपूर्व जनप्रतिनिधि माथि विकास निर्माणको सिलसिलामा भएको घटना तथा ज्याजतिबिरुद्ध नगरपालिकाको ध्यानाकर्षण हुनपर्ने र नगर सभामा प्रस्तुत हुने बिषय कार्यपालिका बैठकको निर्णय विना नै ल्याउन खोजिएको जनाउँदै नगर सभा बहिष्कार गरेको जनाएको छ ।

एमाले संसदीय दल मेचीनगरको तर्फबाट मेचीनगर ११ का वडाध्यक्ष सन्तोष मेचे, मेचीनगर १४ का वडाध्यक्ष शंकर पोखरेल, कार्यपालिका सदस्य निरु परियार लगायतले विषय उठाएका थिए ।

‘वडाध्यक्ष घटना’ बिषयमा नगरपालिकाको तर्फबाट घटनाको भर्सना गर्दै आवश्यक कानुनी कारवाहीका लागि नगरपालिकाले जिम्मेवारी लिनुपर्ने माग राखेको थियो । संसदीय दल मेचीनगरले उठाएका बिषयमाथि छलफल हुन नसकेपछि नगर सभा बहिष्कार गरिएको एमाले संसदीय दलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV