२० असार २०७८, आईतवार

कञ्चनपुर । कञ्चनपुको बेदकोट नगरपालिका वडा नम्बर १ मा निकुञ्जको गाडीले नै विजय सालको काठ  नियमविपरीत ओसारपसार गरिराखको सूचना पाएपछि स्थानीयले निकुञ्जको गाडी बाटोमै रोकेका छन् ।

बेदकोट नगरपालिका वडा नम्बर १ मा रहेको बैजनाथ मध्यवर्ती सामुदायिक वनबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बा १ झ ९७१० नम्बर गाडीमा शनिबारको दिन विजय सालको ४ गेली काठ प्रक्रियाबिना नै ओसारपसार गरेकाे पाइएकाे हाे । स्थानीयले उक्त गाडीलाइ बाटोमै रोकेका हुन् ।

सामुदायिक वनले काठ सुरक्षित गर्न निकुञ्जभन्दा पनि डिभिजन वन कार्यालयलाइ बुझाउनुपर्ने हो तर यहाँ सामुदायिक वनले निकुञ्जलाई काठ बुझाउँदा आम मानिसमा शंका उब्जिएको छ ।

सामुदायिक वन र निकुञ्जको मिलोमतोमा विजय सालको काठ ओसारपसार भएकाे भन्दै गाडीलाइ रोकेको र उक्त गाडी कुन नियममा गएको छ, यसको जानकारी वन समितिले सम्पूर्ण उपभोक्तालाइ दिनुपर्ने स्थानीयको भनाई छ ।

बैजनाथ मध्यवर्ती सामुदायिक वनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाइ काठ दिँदा निवेदनको ओ.सी. आफूले राख्नुपर्ने भए पनि ओ.सी. सामुदायिक वनले नराखी निकुञ्जलाइ दिएको छ । जसमा छाप नै छैन । स्थानीयका अनुसार काठसहितको गाडी स्थानीयले रोकेपछि आफुहरु फस्ने डरले उक्त कागजात हतारमा बनाएको हुनसक्ने बताइएकाे छ ।

हामीले बैजनाथ वनका अध्यक्ष कृष्ण राज जोशीसँग काठ ओसारपसार गर्नुको कारणबारे सोध्दा उनले उक्त विजय सालको काठ वनबाट चोरी रुपमा भेटाएको बताए । काठ सामुदायिक वनको कार्यालयमा राख्दा चोरी हुने डरले निकुञ्जलाइ नै बुझाएको हाँस्यास्पद जवाफ उनले दिएका छन् । चोरी हुने डरले भन्दै १६ गते भेटाएको विजय सालको काठ १९ गते निकुञ्जलाइ बुझाउन लागेको छ जबकि धेरैदिन अगाडि बरामद गरेका विजय सालका १२ काठका गेली भने अझै पनि सामुदायिक वनको कार्यालयमै छन् ।

सामुदायिक वनको उपभोक्ता समितिले चोरी हुन लागेको विजय सालको काठ वनको पश्चिमी क्षेत्रबाट बरामद गरेर सामुदायिक वनमा पुर्याउने निर्णय गरे पनि उक्त काठ कसलाइ दिने भने निर्णय चाहिँ गरेको छैन ।

काठ फेला परेको समेत निर्णय गर्ने उपभोक्ता समितिले उक्त काठ कसलाइ दिने भनी निर्णय नगरी विजय सालजस्तो लोपाेन्मुख र बहुमुल्य काठ मिलोमतोमा निकुञ्जको गाडीमा हाली लग्दा काठ तस्करी गर्न लगिएको शंका स्थानीयले गरेका छन् । एक स्थानीयकाे भनाइअनुसार उक्त काठ निकुञ्जको कार्यालयमा विजय सालको गिलास बनाउनको लागि सामुदायिक वनले पठाएको भन्ने पनि छ ।

यसरी सामुदायिक वनको उपभोक्ता समिति र वन्यजन्तु र वनको संरक्षणमा लाग्ने निकुञ्जले नै मिलामतोमा काठ ओसारपसार गर्दा आम जनमानसमा कस्ताे सन्देश जान्छ, यसबारे सचेत हुनु र दाेषीलाइ कारबाही गरिनुपर्ने स्थानीयकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV