१९ असार २०७८, शनिबार
  • राजेन्द्र अधिकारी,

पोखरा । ५१ फिटको भूमेश्वर महादेवको मूर्ति स्थापनासँगै पोखरामा नयाँ पर्यटकीय गन्तव्य थपिएको छ । ४० करोडको लागतमा विगत ४ वर्षदेखि थालिएको निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण समितिले जनाएको छ ।

४ वर्षअघि स्थानीय गाउँलेहरुले महायज्ञको आयोजना गरी ६ करोड रुपैयाँ संकलन गरेर मूर्ति स्थापना कार्य शुरु गरेका थिए । पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन प्रवद्र्धन उपभोक्ता समितिका अध्यक्ष चन्द्रकान्त बरालका अनुसार २० करोड खर्च भइसकेको यो योजना असोजसम्ममा पूरा हुनेछ ।

पोखरादेखि नजिक भएर पनि ओझेलमा परेको यस ठाउँको विकासका लागि मूर्ति निर्माणको परिकल्पना गरेका स्थानीय चन्द्रकान्त बरालले आफ्नै अध्यक्षतामा निर्माण कार्य गरिरहेका छन् । महायज्ञ लगाएर शुरु गरिएको यस अभियानमा केन्द्रीय, प्रदेश र स्थानीय सरकारले पनि आर्थिक सहयोग गरेका छन् ।

चन्द्रकान्त बराल, अध्यक्ष, निर्माण समिति

समुद्र सतहदेखि १५सय मिटर उचाईमा रहेको पुम्दीकोटमा राखिएको भूमेश्वर महादेवको मूर्ति भारतको मथुरामा अष्ठधातुजडिट फाइवर ग्लासबाट निर्माण गरिएको हो । ६ टनको उक्त मूर्तिका लागि हिलटेङ्क प्रा.लि.का निर्देशक कमल जयनले ४ करोड रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

शुरुमा १०८ फिट उचाईको उभिएको महादेवको मूर्ति बनाउने तयारी समितिले गरेको थियो । नजिकै रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमान स्थालका कारण नागरिक उड्डयन प्राधिकरणले यो कार्यलाई रोक्दै ५१ फिटसम्मको मूर्ति निर्माण गर्न सहमति दिएको हो ।

समुन्द्र सतहदेखि १५ सय मिटर उचाईमा रहेको यस क्षेत्रमा भूमेश्वर महादेवको मूर्तिसँगै १०८ वटा शिवलिङ्ग, १०८ स्वर्गद्वारी सिढीं र भूमेश्वर महादेवको मूर्तिलाई परिक्रमा गर्ने मनोरेल समेत राख्ने योजना समितिको छ ।

भूमेश्वर महादेवको मूर्ति राखिएको ठाउँ भन्दा पारी डाँडालाई सुमेरु पर्वतको रुपमा विकास गरेर त्यहाँ कुमार र पार्वतीको मूर्ति स्थापना गर्ने गरी थप २० करोड योजना समितिले अघि सारेको छ । जुन कार्य पुरा गर्न समितिलाई अझै १÷२ वर्ष लाग्ने देखिन्छ ।

२० रोपनी क्षेत्रफलमा फैलिएको भूमेश्वर महादेव मूर्ति निर्माण कार्यले स्थानीयहरु पनि उत्साहित भएका छन् । यो ठाउँको विकासले सबैलाई फाइदा पुग्ने र स्थानीयले उत्पादन गरेका बस्तुहरु बिक्री हुने हुँदा जीवनस्तर उकासिने विश्वास पूर्वशिक्षक एवं स्थानीय उमानाथ बरालको छ ।

शहरदेखि नजिकै भएर पनि कुनै रोजगारीको व्यवस्था नहुँदा स्थानीय युवाहरु विदेशिन बाध्य थिए । धेरैले त्यहाँको जग्गा जमीन बेचेर बसाई नै अन्त सारेका थिए । तर, यतिबेला मूर्ति निर्माण भएसँगै युवाले रोजगारी पाउने, विदेशिनु नपर्ने र स्थानीय उत्पादन यहीँ बिक्री हुने आशा स्थानीयमा थपिएको डिल्लीराम बरालले बताए ।

पछिल्लो समय जनप्रतिनिधिहरुले देशका विभिन्न ठाउँहरुमा धमाधम भ्यूटावर निर्माण गर्ने र बजेट सक्ने होडबाजी चलाई रहँदा यहाँका स्थानीय भने गाउँको विकासका लागि धार्मिक पर्यटनको दीर्घकालीन पूर्र्वाधार निर्माणमा स्वस्र्फूत रकम जुटाई रहेका थिए ।

जसले गर्दा यतिबेला गाउँ छाडेर गएकाहरुलाई पछुतो लाग्न थालेको छ, भने गाउँमा भएकाहरु आफ्नै ठाउँमा विकास हुने भयो भनेर खुशी देखिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV