१९ असार २०७८, शनिबार

काठमाडौं । प्रस्तावित बीएण्डसी मेडिकल कलेजका सञ्चालक दूर्गा प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन माग गरेका छन् । त्यस्तै उनले सम्बन्धन नदिने भए सरकार आफैले सञ्चालन गर्न वा सधैँका लागि बन्द गर्ने विषयमा ठोस निर्णय लिन प्रधानमन्त्री केपी ओलीसँग माग गरेका हुन् ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईले पटक–पटक आफ्नो मेडिकल कलेजलाई सम्बन्धनका लागि प्रयास भएपनि अवरोध सिर्जना भइरहेको बताए ।

सम्पूर्ण मापदण्ड पूरा गरेको, विश्वविद्यालयले सम्बन्धनको सहमति प्रदान गरी सिट संख्या निर्धारणको अनुरोध गरेको, सम्बन्धनको सिफारिस शुल्क समेत बुझाइसकेको अवस्थामा समेत विभिन्न बहानाबाजी गरी आलटाल गर्ने काम भएको उनको भनाइ छ ।

प्रसाईंले मेची अञ्चलबासीको धरोहर रहेको आफ्नो संस्थालाई ध्वस्त र तहस नहस पार्न खोजिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन खोजेको जिकिर गरे । प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कारबाही गर्नसमेत प्रधानमन्त्रीसँग माग गरेका छन् ।

चिकित्सा शिक्षा आयोगको बैठकबाट डा.प्रकाशराज पाण्डे संयोजक र सदस्यमा डा.भोजराज अधिकारी, प्रा.डा. रमेशप्रसाद आचार्य र सेमन्तराज कोइराला भएको निरीक्षण तथा अनुगमन टोली पठाए पनि चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले अहिलेसम्म रिपोर्ट पेश गरी सम्बन्धन अगाडि नबढाएको भन्दै उहाले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV