१९ असार २०७८, शनिबार

झापा । निरन्तरको वर्षापछि झापाका नदीहरुमा पानीको बहाव बढ्ने क्रम जारी छ । विशेषगरी वर्षायाम सुरु भएसँगै दक्षिणी झापाका बासिन्दा बर्षेनी बाढीबाट बढी प्रताडित हुने गरेका छन् ।

जिल्लामा रहेका दुई दर्जनबढी खोला र नदीमध्ये पनि कनकाई, मेची, बिरिङ, रतुवा, अन्धुवा खोला लगायतमा पानीको बहाब निरन्तर बढिरहेकाले जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन जल तथा मौषम विभागले आह्वान गरेको हो ।

झापासहित मोरङ, सुनसरी, इलाम लगायतका जिल्लामा अध्याधिक बर्षा भइरहेकाले ती जिल्लाका नदिहरुमा जुनसुकै बेला ठुलो बाढी आउन सक्ने भन्दै मौषम विभागले नदी आसपासका क्षेत्र तथा होचा स्थानहरुमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

विशेषगरी कनकाई नदिमा पानीको बहाब निरन्तर बढ्ने क्रममा रहेकाले बढी जोखिम हुन सक्ने भन्दै आसपासका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।

भद्रपुरको चन्द्रगढी विमानस्थलस्थित वर्षा मापन उपकरणले झापामा २४ घण्टामा ११६ दशमलब ६ मिलिमिटर वर्षा भएको रेकर्ड गरेको छ । यसैगरी सोही अवधिमा इलामको सोक्तिम टी इस्टेटमा ५५ दशमलब ८ मिलिमिटर र माइपोखरीमा ५० दशमलव २ मिलिमिटर र कन्याम टी इस्टेटमा ५० मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।

झापामा सबैभन्दा बढी बाढीको जोखिम कन्काई नदी आसपासमा रहेको छ । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार पूर्वानुमानमा आधारित आपतकालीन बाढी पूर्वतयारी अन्तर्गत कन्काई जलाधारका चार पालिका कन्काई, झापा, शिवसताक्षी र गौरीगञ्जमा एक हजार ६६५ घरधुरी बाढीको उच्च जोखिममा छन् ।

आज बिहानदेखि झापाका सबै क्षेत्रमा अत्यधिक वर्षा भइरहेको छ । ठूला नदी मात्र होइन, साना खोला र खोल्सामा समेत बाढी आउन थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV