१८ असार २०७८, शुक्रबार

रौतहट । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ स्थित बन्जरहामा भारतले आफ्नो भूमिमा भन्दै एकतर्फी रुपमा बनाएको बाँधले दशगजा मिचेको प्रमाणित भएको एकवर्ष बितिसक्दा पनि अहिलेसम्म भत्काएको छैन् ।

भारतले दादागिरी शैलीमा प्रत्येक वर्ष बढाउँदै लगेको सो बाँध गत वर्ष जेठ महिनामा कोरोनाको पहिलो लहरसँगै देशभर जारी लकडाउनको मौका छोपेर बढाउँदै लगेको थियो । तर स्थानीयवासी , सशस्त्र प्रहरी र प्रशासनले डटेर भारतको सो कार्यको प्रतिकार गरेपछि सो बाँधको निमार्ण कार्य भारतले रोकेको थियो ।

नेपाल र नेपाली जनतालाई पेलेरै बाँध निमार्ण गर्ने निति लिएर अगाडि बढेको भारत रौतहटवासीको कडा प्रतिकार र स्थानीय प्रहरी–प्रशासनको कडा रवैया पछि हच्किएर पछाडि हटेको थियो ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे सहितको टोली बाँधले सिमा मिचेको भू–भाग नभत्काए नेपालले भत्काउने चेतावनी दिएपछि भारतले आफैले बाँधको केही भाग भत्काएको पनि थियो । त्यसपछि सो स्थानमा दुबै देशको सर्वे टोलीले सो क्षेत्रको सर्वेक्षण र नापी गर्दा सो बाँधले ११ स्थानमा दशगजा मिचेको प्रमाणित भएको थियो ।

भारतीय टोलीको अनुराग कुमार र नेपाली टोलीको उमेश कुमार सहितको प्राविधिक टोलीले जिपिएस प्रविधिबाट नक्साको पहिचान गरेर सिमा क्षेत्रको ११ स्थानमा जीआइ पाइपको अस्थायी पिलर गाडीएको छ । दशगजाको मध्य बिन्दुमा गाडिएका सो पाइपको दायाँबाँया ९.१ मिटर पूर्ण रुपमा खाली हुनुपर्छ । त्यस स्थानमा दुबै देशले कुनैपनि अस्थायी तथा स्थायी संरचना बनाउन पाउदैनन् । तर दुबै देशको संयुक्त नापी टोलीले नापी गरेपश्चात दशगजाको मध्यबिन्दुमा गाडिएका ती अस्थायी पिल्लरहरुमध्ये केही त बाँधमै परेका छन् ।

यसरी दशगजा मिचेको प्रमाणित भएपछि भारतिय पक्षले गत कार्तिकभित्र बाँधले मिचेको दशगजा खाली गर्ने प्रतिवद्धता व्यक्त गरेपनि अहिलेसम्म बाँधको अवस्था ज्यूँ का त्यूँ रहेको इशनाथ नगरपालिका वडा नम्बर १ वार्ड अध्यक्ष विगु साहले बताउनुभयो ।

सो भारतिय बाँधको करिब २ सय मिटर लम्बाइ क्षेत्रमा भारतिय बाँधले दशगजा मिचेको प्रमाणित भएको थियो । सो बाँधको कारण वर्षाको पानीले निकास नपाउँदा वर्षेनी सो क्षेत्र डुबानमा पर्ने गरेको छ । यो बाँधकै कारण यस वर्षपनि सो नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ यस वर्षामा पूर्ण रुपमा डुबान पर्ने समस्या वर्षौदेखि स्थानीयले भोग्दै आएका छन् ।

डुबानकै कारण किसानले आफुले दुःख गरेर लगाएको बाली समेत कहिल्यै भित्र्याउन पाउदैनन् भने वर्षामा सधैँ डुबेर बस्नुपर्ने वाध्यता रहेको स्थानीय किसान सञ्जय साहको गुनासो छ । प्रत्येक वर्ष डुबानले गर्दा आफुले लगाएको बाली नष्ट हुने र वर्षायाम भरीनै नयाँ बाली लगाउन नसकिने दुःखेसो साहको छ ।

सो बाँध भारतले जंगे पिलर ३ सय ४७ को पूर्व, मझौला पिलर नम्बर ३४६÷५ हुँदै बन्जरहासम्मको भूभाग समेटेर बाँध अग्लो बनाएको छ । बाँधलाई वर्षाको पानीले नभत्कियोस् भनेर वालुवाको बोराहरु राखेर मजवुत बनाउँदै भारतीय पक्षले वर्षेनी एक पक्षिय ढंगले लम्बाइ तथा उचाइ बढाउँदै आएको छ । भारतीय बाँध करिब तीन किलोमिटरभन्दा लामो, पन्ध्र फिटभन्दा अग्लो र दश मिटरभन्दा चौडाईको रहेको छ भने नेपाल तर्फको वर्षाको पानी निकासका लागि एउटा ढोका समेत राखिएको छैन । स्थानीयले सो बाँधबाट पानीको निकास बनाउन र आफुहरुलाई डुबानबाट जोगाउन नेपाल सरकारले पहल गर्नुपर्ने स्थानिय नन्दकिशोर सिंहले माग गर्नुभयो ।

भारतले सिमामा निमार्ण गरेको बाँधहरु रौतहटवासीको लागि अभिशाप बन्दै आएको छ । भारतले रौतहटको सिमामा एकतर्फी रुपमा निमार्ण गरेको करिब ५ किलोमिटर लामो बाँधले रौतहट जिल्ला वर्षेनी बाढी तथा डुबानको चपेटामा पर्छ । जसले गर्दा ठुलो जनधनको क्षति हुने गरेको छ ।

भारतले नेपाल डुबीरहँदा पनि बाँधको ढोका खोल्ने गरेको छैन् । छिमेकी डुबिरहँदा पनि भारत भने टुलुटुलु हेरेर बस्ने गरेको छ । यता स्थानिय प्रशासनले दशगजा मिचेर बनाएको बाँध भत्काउन र पानीको लागि निकास दिन भारतिय पक्षलाई पटकपटक आग्रह गरेता पनि अटेर गरेर बसिरहेको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतले दशगजा मिचेर बनाएको बाँध भत्काउने सम्झौता यसअघिनै भइसकेका र कोरोनाको निरन्तर लहरले गर्दा भारतिय पक्षले बाँध सार्न नसकेको जनाउँदै मनसुन लगतै पूर्ववत सम्झौता कार्यन्यन गर्न आफुहरु लागिपर्ने दावी गर्नुभयो। उहाँले भारतिय पक्षले यो वर्षपनि सो बाँध बढाउन लाग्दा नेपाली सशस्त्र प्रहरीले रोकेको जानकारी गराउँदै सिमा सुरक्षामा कुनै कमि हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

स्थानीयले पहिलेदेखिनै भारतले एकतर्फी बनाएको सो बाँधले दशगजा मिचेको भन्दै निरन्तर प्रतिकार गर्दै आइरहेका छन् । उनीहरु निरन्तर भारतको हेपाहा प्रवृतिको विरोधमा लडिरहेका छन् तर सरकारले भने उनीहरुको होष्टेमा हैसै दिने कामधरी गरेको छैन् । उनीहरु भन्छन् यदि सरकारले आफ्नो देशको दशगजा खाली गर्न नसक्ने हो भने हामीलाई साथ दिओस् हामी आफै भारतले मिचेको हाम्रो दशगजा खाली गर्छौ ।

सरकारले भारतले कब्जा गरेका भूभागहरु लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समेटेर ती भूभागहरु फिर्ता ल्याउँछौ भनिरहँदा दशगजा मिचेको प्रमाणिग भइसकेको बाँध एकवर्षसम्म पनि हटाउन नसक्नुले सरकारको बोलाइ र गराइमा भिन्नता देखिएको स्थानियको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV