१८ असार २०७८, शुक्रबार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा) । गत मंगलबारदेखि परिरहेको अविरल वर्षाको कारण पर्साको विभिन्न स्थानहरु डुबानमा परेका छन् । पर्साको १४ वटा स्थानीय तहमध्ये अधिकांश स्थानीय पालिकाहरु डुबानमा परेका छन् ।

जिल्लाको ग्रामीण भेगलगायत सदरमुकाम वीरगन्ज महानगरपालिकासमेत डुबानमा परेको छ । जिल्लाको ग्रामीण भेगमा रहेको आधा दर्जन भन्दा बढी नदीहरुमा पानीको बहाव बढेपछि गाउँ बस्तीहरु डुबानमा परेको हो, भने वीरगन्ज महानगरपालिकामा उचित पानीको निकाश नहुँदा डुबानमा परेको हो ।

वीरगन्जको मुख्य चोक आदर्शनगर, रानीघाट, श्रीपुर, नगवा लगायतका स्थानहरुको मुख्य सडकमा घुँडाभन्दा माथिसम्म पानीको बहाव बढेको छ । आदर्शनगर क्षेत्रमा रहेका पसलहरु भित्र पानी प्रवेश गरेर व्यापारीहरुको सामान नष्ट गरेको छ भने जिल्लाको प्रशासनीक निकाय जिल्ला प्रशासन कार्यालय पर्सा पनि डुबानमा परेको हो ।

जिल्ला प्रशासन कार्यालयको हाताभित्र घुँडाभन्दा माथिसम्म पानी जमेको छ । कार्यालय छेउमै रहेको सानो कुलोबाट बग्ने पानीको बहाव बढेपछि पानी पास हुन नसकेको कारण महानगरपालिकाको विभिन्न स्थानहरु डुबानमा परेको हो ।

ढलको उचित निकास नभएको कारण सँधै वर्षा याममा वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रहरु डुबानमा पर्ने गरेको छ । नालाहरु सरसफाई गरिएको छैन, फोहरहरुलाई पानीको बहावले ढलको मुखमा पु¥याएर ढलको मुख थुनिएपछि पानीको बहावमा रोक लागेसँगै नगर जलमग्न भएको छ ।

महानगरको रानीघाट, पानीट्याङ्की, भिस्वा, नगवा लगायतका स्थानहरु जलमग्न भएको छ । ढल तथा नालाहरुको मुख फोहरले पुरिएपछि सडकमा पानी जमि सडक छेउमा रहेको घरहरुमा समेत पानी पसेको छ ।

वीरगन्ज महानगरपालिकाको पश्चिम पट्टि बस्ती छेउ हुँदै गएको सिर्सिया नदीमा पानीको बहाव बढेसँगै छेउछाउका बस्ती प्रभावित भएको छ । रानीघाट, श्रीपुर, राधेमाई तथा रामगढवा टोलमा सिर्सिया नदीको पानीले बितण्डा मच्चाएको छ ।

घर–घरमा पानी प्रवेश गरिसकेको छ । तीन दिनदेखि नै बर्षाको गति बढ्दो अवस्थामा छ । वीरगन्जको आदर्शनगर, रानीघाट, भिस्वा, श्रीपुर, मुर्ली, राधेमाई लगायत नगरको अधिकांश भू–भाग डुबानमा परेको छ भने ग्रामीण क्षेत्र पनि डुबानमा परेको छ ।

यता पर्साको ग्रामीण क्षेत्रमा रहेको तिलावे नदी, भुलवाही खोला, ओरिया खोला, भेदहा नदीलगायतका नदीहरुमा पानीको बहाव बढेसँगै नदी छेउका बस्तीहरुमा पानी प्रवेश गरेको छ । जिल्लाको १ वटा महानगरपालिका बाहेक अन्य १३ वटा स्थानीयहरु ग्रामीण क्षेत्रमा पर्ने गरेको छ ।
पोखरीया नगरपालिका, बहुदरमाई नगरपालिका तथा पर्सागढी नगरपालिकामा पर्ने गाउँवस्तीहरु पनि डुबानमा परेका छन् भने ओरिया खोलामा आएको बाढीले गर्दा जगरनागपुर गाउँपालिकाका विभिन्न गाउँहरु डुबानमा परेका छन् ।

लगातारको वर्षाले गर्दा कुलो, नहरहरु भत्किएर अर्थात् कुलो, नहर, खोलाको माथिसम्म पानीको सतह पुगी बस्तीहरुमा पानी प्रवेश गरेको कारण ग्रामीण भेगका जनताहरुको जनजीवन प्रभावित बनेको हो । बाढीको पानी घरभित्र प्रवेश गरेको कारण खाना पकाउनमा समेत समस्या भएको हो ।

विशेष गरी ग्रामीण भेगका फुसको छाप्रो तथा माटोको घरमा पानी पसेको कारण त्यहाँका स्थानीय बासिन्दाहरु हिजोदेखि खाना पकाउन सकेका छैनन्, भने रातभरि सुत्न पाएका छैनन् । खाना पकाउने स्थानलाई नै पानीले ढोकेको छ भने सुत्ने खाँटसम्म पानी पसेको छ । पानीको सतह बढ्याको बढ्यै छ, वर्षा रोक्ने सम्भावना देखि रहेको छैन ।

ग्रामीण भेगका दर्जनौँ बस्ती डुबानमा

मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका ग्रामीण भेगका दर्जनौं बस्ती पनि डुवानमा परेका छन् । गुणस्तरहीन नाला निर्माण एवं प्लाष्टिकजन्य फोहोरहरू सडक र नालामा फाल्ने गरिएको कारण नाला जाम हुन गई मानव वस्तीहरु डुबानमा परेको हो ।

त्यस्तै, अविरल वर्षाले पर्साको ग्रामीण क्षेत्रका नदी र खोलाहरूमा पानीको सतह बढेर दर्जनौं गाउँ नै डुबानमा परेका छन् । नदी र खोलाको बाढीले केही स्थानमा खेतीयोग्य जमीन समेत कटान गरेको छ ।

वर्षाको भेलका कारण पश्चिमी पर्साको ठोरी गाउँपालिकाको ब्रम्हानगर, नयाँवस्ती, निर्मलबस्ती, मिलन चौक, आठघरे, विजय बस्ती, शान्ति टोल, विशाल चौक, सुन्दर टोल, टयाङ्ग्रेलाइन लगायत बस्तीहरू डुवानमा परेको हो ।

यसैगरी हालसालै निर्माण भएको हुलाकी सडक भन्दा होचो स्थानमा रहेको उत्तरतर्फका अधिकांश बस्ती डुवानमा परेको छ तर मानवीय क्षति भने भएको छैन । बाढी पहिरोको जोखिममा रहेका बस्तीहरूमा सुरक्षाकर्मीहरूले तदारुकताका साथ खटिने गरेकाले अहिलेसम्म कुनै पनि मानवीय क्षतिको घटना नभएको बताइएको छ ।

अविरल वर्षाका कारण ओरिया खोलामा आएको बाढीले वीरगञ्ज ठोरी हुलाकी सडकखण्डको गोपी बस्ती नजिकै सडकलाई क्षति पु¥याएको छ । हुलाकी सडक जोगाउन निर्माण गरिएको तटबन्ध बाढीले भत्काएकाले सो क्षति हुन गएको हो । सो खोलाको बाढीले ठोरी गाउँपालिका–१ देखि ४ सम्ममा क्षति पु¥याएको छ भने सडक सम्पर्क विच्छेद भएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या परेको छ ।

यसैगरी धोबिनी गाउँपालिकाको हरिहरपुर, बखरी, लङ्गडी, आसवारी, जगरनाथपुर गाउँपालिकाको मधुबासा, झाखरा, मसियानी, छिपहरमाई गाउँपालिकाको भिस्वा, जयमङ्गलपुर, झलमैहिया, मिर्जापुर, बघमरी, टिहुकी, बुडगाई, भुलुवाही लगायत दर्जनौं गाउँ डुवानमा परेको छ ।

यसैगरी बाढीका कारण पर्साको जीराभवानी गाउँपालिका–१ पिपराका दर्जनौ घर डुवानमा परेका छन् । अविरल वर्षाका कारण लाटेगाँडा खोलामा आएको बाढी गाउँमा पस्दा स्थानीयवासी शङ्कर दास, किशुन महतो, जङ्गाली राय, खिचड़ी महतो, शिवशङ्कर दासलगायत १६ जनाको घर डुवानमा परेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV