१८ असार २०७८, शुक्रबार
  • युवराज आचार्य,

झापा । आगोमा जलेर छोरी गुमाएका झापाको कमल गाउँपालिका–६ स्थित सोनापुरका देवी बहादुर बस्नेतलाई स्थानीय युवाहरूले नयाँ घरसहित नगद हस्तान्तरण गरेका छन् ।

दुई वर्षअघि आगोले जलेर देवीवहादुरकी २२ वर्षीया छोरी कुलमाया बस्नेतको मृत्यु भएपछि पीडित बनेका बस्नेतपरिवारलाई स्थानीय युवाहरूले आज एक कार्यक्रमका बिच अभियानमार्फत् संकलित नगद २ लाख १६ हजार ४ सय ६३ रूपैयाँ र नयाँ घर हस्तान्तरण गरेका हुन् ।

उपचारका क्रममा विरामीको मृत्यु भएपछि घरवारविहीन बस्नेत परिवारलाई स्थायी रुपमा बसोवासको व्यवस्था गर्न नयाँ घर निर्माण गरि हस्तान्तरण गरिएको घर निर्माण समितिका संयोजक हुकुमसिंह राईले बताए ।

एक तले जस्तापाताले छाएको पक्की घर निर्माणमा रु ५ लाख ४५ हजार १ सय खर्च भएको समितिका आर्थिक संयोजक हर्कवहादुर रायले बताए । रायका अनुसार बस्नेत परिवार तीन पुस्तादेखि त्यहाँका एक नेपाल परिवारको घरायसी कामदारका रुपमा बस्दै आएका थिए ।

खोले पकाउन आगो बालेको चुल्होमा परी घाइते भएकी कुलमायाको उपचारमा समस्या भएपछि राईको नेतृत्वमा कुलमाया बचाउ अभियान गठन गरिएको थियो । उपचारका क्रममा विरामीको मृत्युभएपछि त्यहि अभियानलाई घर निर्माण समितिमा रुपान्तरण गरिएको संयोजक राईले बताए ।

घर निर्माणमा नेपाल परिवारले दश धुर जमीन दिएका थिए भने इटा, सिमेन्ट, रडलगायतका कच्चा सामग्री सहयोगबाटनै जुटाइएको अभियानले जनाएको छ । त्यस्तै, वडा कार्यालयले आवश्यक जस्तापाता सहयोग गरेको थियो । स्थानीय युवाहरुले श्रमदान गरि सहयोग पुरयाँएका थिए ।

पुस्तौं पछि आफ्नै घरमा बस्ने ब्यवस्था मिलाईदिएको भन्दै अभियानलाई बस्नेत परिवारले धन्यवादसहित आभार प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV