१६ असार २०७८, बुधबार

रौतहट । रौतहटको बागमती नदीले खतराको सतह पार गरेको छ । गएरातिदेखि लगातार परेको वर्षाले जिल्लाको पूर्वी भेगमा रहेको बागमती नदीले सहत पार गरेकाे हाे ।

जिल्ला प्रशासन कार्यालय रौतहटकाे अनुसार बुधबार बिहान नदीकाे वहाव ५ सय ३० मि.लि. रहेको छ । ‘सामान्य त बागमती नदीमा ५ सय मि.लि. खतरको लेभल हो,’  प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भन्नुभयो, ‘आज बिहान बागमती नदीको लेभल ५ सय ३० मि.लि. छ, त्यसैले सबैजना सचेत हुन अत्यावश्यक छ ।’

उहाँले नदीमा पानीको सतह बढेपनि नदी छेउमा रहेका बाँधको सतहभन्दा कम रहेकाले तत्काल बाढी गाउँपस्ने जोखिम नभएकाे बताउनुभयो ।

उहाँले तटिय क्षेत्रका मानिसहरुलाई नदी छेउमा नजान र सचेत भएर बस्न आग्रह गर्नुभयो । नदीको तह बढेकाले नदीमा बगाएर ल्याएका दाउरा टिप्ने, माछा मार्ने, नदी आसपास रहेका खेतहरुमा काम गर्न जाँदा  दुर्घटनाको जोखिम बढाउने भन्दै प्रजिअ यादवले त्यस्ता जोखिमयुक्त कृयाकलाप नगर्न स्थानीयलाई आग्रह गर्नुभयो ।

लगातारको वर्षासँगै जिल्लका बागमती, लालवकैया, चाँदी, झाँझ नदीहरुमा पानीले सतह बढेकाले तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ ।

बागमती र लालबकैया नदीमा आउने बाढीको कारण वर्षेनी दुर्गाभगवती गाउँपालिका, राजदेवी नगरपालिका, गौर नगरपालिका, वौद्धिमाई नगरपालिका लगायतका स्थानीय तहहरुका दर्जनौ गाउँहरु वर्षेनी प्रभावित हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV