१५ असार २०७८, मंगलवार

काठमाडौं । पार्टीको महाधिवेशन नजिकिदै जादा कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीचको छलफलले तीव्रता पाएको छ ।

मंगलबार तीन नेताबीच सिंह निवास चाक्सीबारीमा महाधिवशेन र सभापतिको उम्मेद्वारीका बिषयमा छलफल भएको हो । तोकिएको समयमा नै १४ औं महाधिवेशन सम्पन्न गराउने र क्रियाशील सदस्यताका साथै समायोजनाका विषयमा छलफल भएको नेता सिंहले बताए ।

उनले महाधिवेशनलाई लोकतान्त्रिक पद्धती अनुसार अघि बढाउनका लागि प्रक्रिया पूरा गरेकालाई क्रियाशील सदस्यता दिनुपर्नेमा छलफल भएको बताए । अहिलेको अवस्थामा पार्टीलाई लोकतान्त्रिक पद्धती अनुसार चलाउनका लागि शुक्रबार कोइराला निवासमा सबै केन्द्रीय सदस्यहरुसंग छलफल गर्ने सहमति भएको उनको भनाइ छ ।

त्यस्तै त्यसपछि यसअघिको महाधिवेशमा सभापतिको उम्मेद्वार भएकासंग पनि छलफल गर्ने उनले जानकारी दिए । सिंह, कोइराला र निधि तीनै जना आगामी महाधिवेशनमार्फत् सभापति बन्न आकांक्षी रहेका छन् ।

निधि वर्तमान सभापति शेरबहादुर देउवानिकट मानिन्छन् भने सिंह र कोइराला संस्थापन इतरमा रहेका छन् । यसअघि पनि तीन नेताबीच लगातार छलफल हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV